सार्थक डेस्क।नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशका उपमहासचिवसहित २५ जना नेता केन्द्रीय कमिटीमा निर्वाचित भएका छन् । महाधिवेशनको अन्तिम नतिजाअनुसार प्रदेशको प्रतिनिधित्व यसपटक उल्लेख्य देखिएको छ ।
महाधिवेशनमार्फत तत्कालीन सचिव लेखराज भट्ट उपमहासचिव पदमा निर्वाचित भएका छन् । भट्टले पाँच जना प्रतिस्पर्धीलाई पछि पार्दै एक हजार ४५२ मत प्राप्त गरेका हुन् । यसअघि पार्टीका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी सम्हाल्दै आएका भट्ट कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधित्व गर्छन् ।
सचिव पदमा भने संस्थापन इतर समूहबाट उम्मेदवार बनेका बाजुराका कर्णबहादुर थापा पराजित भएका छन् । नौवटै सचिव पदमा संस्थापन पक्षका उम्मेदवार विजयी हुँदा थापाले ८४७ मत मात्रै पाएका थिए । यद्यपि, थापा केन्द्रीय सदस्यमा भने एक हजार २६ मतसहित निर्वाचित भएका छन् ।
सुदूरपश्चिम प्रदेश भूगोलतर्फ नौ जना नेता केन्द्रीय सदस्य बनेका छन् । युवातर्फ बैतडीका गोविन्द गिरी निर्वाचित हुँदा महिलातर्फ कैलालीकी कमलाकुमारी ओली र लिलाकुमारी भण्डारीले केन्द्रीय कमिटीमा स्थान बनाएका छन् । खुला भूगोलतर्फ डोटीका चक्रबहादुर मल्ल, डडेल्धुराका पठानसिंह बोहरा, अछामका यज्ञबहादुर बोगटी, बैतडीका लिलाधर भट्ट र बाजुराका सहदेव बोगटी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
यसका साथै सुदूरपश्चिमबाट थप १५ जना नेता केन्द्रीय सदस्यमा चयन भएका छन् । युवा क्लस्टरअन्तर्गत बाजुराका नरेश रोकाया सर्वसम्मत रूपमा निर्वाचित भएका थिए । सचिव पदमा पराजित कर्णबहादुर थापासहित बैतडीका दामोदर भण्डारी, कैलालीका झपटबहादुर रावल र सन्तोषकुमारी शर्मा थापा, बाजुराका लालबहादुर थापा तथा अछामका झपट बोहरा पनि केन्द्रीय सदस्य बनेका छन् ।
यस्तै, कञ्चनपुरकी कमला बोहरा, दार्चुलाका गणेशसिंह ठगुन्ना, कञ्चनपुरकी निरुदेवी पाल, बझाङका ऐन महर, कञ्चनपुरका कृपाराम राना, कैलालीका गौरीशंकर चौधरी, बझाङका अफिलाल ओखेडा र आशा विक पनि एमाले केन्द्रीय कमिटीमा निर्वाचित भएका छन् ।


















Discussion about this post