सार्थक डेस्क।नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले फागुन २१ गते तोकिएको निर्वाचन शान्तिपूर्ण, सुरक्षित र निष्पक्ष ढंगले सम्पन्न गराउन सरकार अझै जिम्मेवार र गम्भीर हुनुपर्ने बताएका छन्। निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकका विभिन्न स्थानमा देखिएका असुरक्षाका घटनाले लोकतान्त्रिक प्रक्रियामै प्रश्न उठ्ने अवस्था सिर्जना भएको उनको भनाइ छ।
विराटनगर महानगरपालिका–६ सरौचियामा शनिबार बिहान आयोजित नेपाली कांग्रेसको पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेस निर्वाचनबाट भाग्न नचाहेको स्पष्ट पारे। कांग्रेसले निर्वाचनमा सहभागी हुने निर्णय गरिसकेको उल्लेख गर्दै उनले भने, “हामी निर्वाचनमा जान तयार छौं, तर सरकारले कम्तीमा शान्ति सुरक्षाको विश्वसनीय वातावरण त बनाउनुपर्छ।”
उनले हालसम्म पनि हजारौं कैदी फरार रहेको, प्रहरीका हातहतियार लुटिएका घटनाहरू सार्वजनिक भइरहेकाले यस्तो अवस्थामा निष्पक्ष र सुरक्षित निर्वाचन कसरी सम्भव हुन्छ भन्ने प्रश्न उठाए। फरार कैदी पक्राउ गर्नु र लुटिएका हतियार बरामद गर्नु सरकारको प्राथमिकता हुनुपर्नेमा जोड दिँदै उनले त्यसतर्फ सरकार गम्भीर नदेखिएको टिप्पणी गरे।
सरकारको दोहोरो व्यवहारप्रति पनि नेता कोइरालाले आपत्ति जनाए। एकातिर राजनीतिक दलका नेता तथा पूर्वप्रधानमन्त्रीहरूलाई काठमाडौं बाहिर जान नदिने र अर्कोतिर निर्वाचन गराउने दाबी गर्नु आफैंमा विरोधाभासपूर्ण भएको उनको भनाइ थियो। यस्तो अवस्थामा सरकारले कस्तो प्रकारको निर्वाचन गर्न खोजेको हो भन्ने प्रश्न उनले उठाए। विगतका अभ्यासझैं सबै राजनीतिक दलको सहभागितामा निर्वाचन हुनुपर्ने कांग्रेसको स्पष्ट धारणा रहेको उनले बताए।
भदौ २३ र २४ गते भएका तथाकथित जेनजी आन्दोलनका घटनाबारे पनि उनले फरक–फरक रूपमा मूल्यांकन गर्नुपर्ने धारणा राखे। भदौ २३ गतेको घटना अत्यन्त निन्दनीय र अस्वीकार्य रहेको भन्दै त्यसलाई कुनै पनि बहानामा क्षम्य मान्न नसकिने उनले बताए। त्यसपछि भदौ २४ गते भएको घटनालाई पनि गम्भीर रूपमा लिनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
दुवै घटनामा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिँदै उनले विशेषगरी २४ गतेको घटना मुलुकका लागि दुर्भाग्यपूर्ण भएको र त्यसले समाजमा नकारात्मक सन्देश दिएको उल्लेख गरे।
पार्टीको आन्तरिक अवस्थाबारे चर्चा गर्दै नेता कोइरालाले वर्तमान परिस्थितिका कारण नेपाली कांग्रेसको महाधिवेशन केही समय तलमाथि हुन सक्ने सम्भावना औंल्याए। १५ औं महाधिवेशनमा सभापतिको दाबी गर्दै आएका उनले पार्टीको नियमित महाधिवेशन समयमै हुनुपर्नेमा जोड दिए। त्यसका लागि सबै नेता–कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने र क्रियाशील सदस्यताको विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो।
वडास्तरीय अधिवेशनको सन्दर्भमा उनले संयम र परिपक्वता अपनाउन आग्रह गरे। सकेसम्म सहमतिमा अधिवेशन सम्पन्न गर्नुपर्ने र सहमति सम्भव नभए स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्नुपर्ने उनले बताए। प्रतिस्पर्धाका क्रममा हार–जितलाई लिएर आरोप–प्रत्यारोप गर्ने वा पार्टीलाई कमजोर बनाउने गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्दै स्वस्थ प्रतिस्पर्धा नै लोकतान्त्रिक पार्टीको सौन्दर्य भएको उनको भनाइ थियो।


















Discussion about this post