सार्थक डेस्क।बैतडीमा आज बिहान मिनि ट्रक र कार एकआपसमा ठोक्किँदा चार जना यात्रु घाइते भएका छन् । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–६ स्थित हिरापुर नजिकै बिहान करिब १० बजे दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार धनगढीतर्फ गइरहेका मिनि ट्रक र अल्टो कार घुम्तीमा ओभरटेक गर्ने क्रममा आपसमा ठोक्किएका हुन् । दुर्घटनापछि कार सडकबाट करिब पाँच मिटर तल खसेको जनाइएको छ ।
दुर्घटनामा बझाङको खप्तडछान्ना गाउँपालिका–२ का ४२ वर्षीय देवेन्द्र थापा, ४० वर्षीया गीताकुमारी खड्का, ३७ वर्षीया दिपेश्वरी हमाल र कञ्चनपुरको बेदकोट नगरपालिका निवासी ३८ वर्षीय केशवराज जोशी घाइते भएका छन् ।
प्रहरी निरीक्षक सुरज सिंहका अनुसार घाइते सबैको अवस्था सामान्य छ । उनीहरूको पाटनस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















Discussion about this post