सार्थक डेस्क।कञ्चनपुर जिल्लाको दुर्गम क्षेत्रका रूपमा चिनिँदै आएको लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा सडक पूर्वाधारको उल्लेखनीय विकाससँगै क्रमशः सहज आवतजावतको क्षेत्रमा रूपान्तरण हुँदै गएको छ। वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकका कारण जनजीवन कष्टकर बन्दै आएको अवस्थालाई पछिल्लो समय कालोपत्र र पुल निर्माणले विस्थापित गरेको छ।
सडक विस्तारसँगै लालझाडीको दैनिकी, अर्थतन्त्र र सामाजिक गतिविधिमा सकारात्मक परिवर्तन देखिन थालेको छ। कञ्ज क्षेत्रका स्थानीय बलराम रानाका अनुसार पहिले वर्षा सुरु भएसँगै गाउँ बाहिरी संसारसँग लगभग टुट्ने अवस्था थियो। “हिलोले बाटो छेक्थ्यो, बिरामी परेमा अस्पताल लैजान अत्यन्तै कठिन हुन्थ्यो,” उहाँले विगत सम्झँदै भन्नुभयो, “आज त्यो अवस्था कल्पनाजस्तै लाग्छ।”
हिउँदमा सवारीसाधन चल्दा उड्ने धुलोले स्वास्थ्यमा असर पार्ने समस्या पनि अब घट्दै गएको स्थानीय बताउँछन्। पुल नहुँदा खोलानाला पार गर्न काठको डुङ्गामै निर्भर रहनुपर्ने बाध्यता सडक र पक्की पुल बनेसँगै अन्त्य भएको छ।
स्थानीय जनप्रतिनिधि आएपछि विकास निर्माणले तीव्रता पाएको स्थानीय रामप्रसाद रानाको भनाइ छ। झोलुङ्गे पुल निर्माणपछि जोखिमपूर्ण डुङ्गा यात्रा समाप्त भएको र त्यसपछि दोदा नदीको बल्मी क्षेत्रमा पक्की पुल बनेपछि आवतजावत झनै सहज भएको उहाँले बताउनुभयो।
आफ्नै घर अगाडि कालोपत्र सडक पुगेपछि स्थानीय महेश्वरी राना खुसी देखिनुहुन्छ। “हाम्रो बस्तीमा यस्तो चिल्लो सडक बन्ला भन्ने सोचेकै थिएनौँ,” उहाँले भन्नुभयो, “स्थानीय सरकार आएपछि सडकलाई प्राथमिकतामा राखेर गरिएको कामकै परिणाम हो।”
हाल गाउँपालिकाका प्रमुख केन्द्रदेखि भित्री बस्तीसम्म कालोपत्र सडकको सञ्जाल विस्तार भइरहेको छ। पहिले धुलो र हिलोको सास्ती भोग्नुपर्ने दिन अब सम्झनामा मात्र सीमित भएको स्थानीय रामप्यारा चौधरीले बताउनुभयो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीका अनुसार योजनाबद्ध ढंगले सडक स्तरोन्नति भइरहेको छ। हालसम्म २७.५ किलोमिटर सडक कालोपत्र भइसकेको र थप सडक कालोपत्रको काम अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो।
गाउँपालिका, सुदूरपश्चिम प्रदेश सरकार र सङ्घीय सरकारको सहकार्यमा चानदेव–बल्मी सडक, वडा नं २ को चक्रपथ तथा वडा नं १ का रणनीतिक सडकहरू कालोपत्र गरिएको छ। अध्यक्ष विशेष पूर्वाधार कार्यक्रममार्फत सबै वडाका सडक स्तरोन्नतिको कार्य भइरहेको सार्कीले बताउनुभयो।
गाउँपालिकाले थप ३२ किलोमिटर सडक कालोपत्र गर्ने तयारी गरेको छ। चालु आर्थिक वर्षमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत १३.६ किलोमिटर, एसियाली विकास बैंकको पीएलआर कार्यक्रमअन्तर्गत १३.५ किलोमिटर र पाँच किलोमिटर चक्रपथ कालोपत्र हुने उहाँले जानकारी दिनुभयो।
पूर्वाधार विकासकै अर्को उपलब्धिका रूपमा दोदा नदीमा नन्द गाउँ–बल्मी र लालझाडी–भकुण्डा जोड्ने पक्की पुल सञ्चालनमा आइसकेका छन् भने जाइँ–देखतभूली र देखतभूली–दुबहा सिकलपट्टी जोड्ने पुल अन्तिम चरणमा छन्। यसले वर्षायाममा ज्यान जोखिममा राखेर नदी तर्नुपर्ने अवस्थाको अन्त्य गरेको छ।
सडक र पुल निर्माणपछि किसानलाई पनि प्रत्यक्ष फाइदा पुगेको छ। उखु र तरकारीजस्ता कृषि उपज खेतबाटै बजार वा चिनी मिलसम्म पु¥याउन सहज भएपछि बिचौलियाको निर्भरता घटेको छ। साथै, एम्बुलेन्स र दमकलजस्ता आपत्कालीन सवारीसाधन गाउँका दुर्गम बस्तीसम्म पुग्न थालेका छन्। सडक छेउछाउमा पसल, बजार र साना उद्योग खुल्दै जाँदा स्थानीय युवालाई गाउँमै रोजगारीका अवसर सिर्जना हुन थालेका छन्।


















Discussion about this post