कञ्चनपुर कारागारमा ऐनविपरीत चौकीदार र नाइके नियुक्ति भएको विषयमा छानबिन हुने

सार्थक डेस्क। कञ्चनपुर कारागारमा कानुनको व्यवस्था विपरीत चौकीदार, नाइके तथा सहनाइके तोकिएको तथ्य सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालयले यस विषयमा छानबिन अघि बढाउने भएको छ। कारागार व्यवस्था ऐन, २०७९ अनुसार यस्ता जिम्मेवारी एक वर्षभन्दा बढी अवधिका लागि दिन नपाइने व्यवस्था रहे पनि कञ्चनपुर कारागारमा एउटै कैदीबन्दीलाई लामो समयदेखि चौकीदार र नाइकेको भूमिकामा राखिएको पाइएको छ।
कारागार प्रशासनले अनुचित लाभ लिने उद्देश्यले विगत आठ वर्षदेखि एउटै कैदीलाई चौकीदार र नाइके बनाउँदै आएको भन्दै कैदीबन्दीहरूले गुनासो गरेका छन्। यस विषयमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आइतबार समिति गठन गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले कारागारभित्र भइरहेको अनियमितता र आर्थिक चलखेलबारे हालै जानकारी पाएको बताउँदै औपचारिक छानबिन गरेर सत्य तथ्य सार्वजनिक गरिने जानकारी दिनुभयो।
हाल कारागार प्रशासनले प्रकाश मल्ललाई लामो समयदेखि मूल चौकीदारको जिम्मेवारी दिएको छ भने करणबहादुर कुँवर, रोशन शाही र मदन गिरी चार वर्षदेखि नाइकेको भूमिकामा छन्। कुटपिटका क्रममा घाइते भई महाकाली प्रादेशिक अस्पतालमा उपचाररत नाइके करणबहादुर कुँवरले लामो समयसम्म एउटै व्यक्तिलाई चौकीदार र नाइके राखिएको विषयमा आपत्ति जनाउनुभयो। उहाँका अनुसार कारागारका केही कर्मचारीसँगको मिलेमतोमा चौकीदार र आउटडोर कैदी चयन गरी आर्थिक हिनामिना गरिएको र दोष नाइके तथा सहनाइकेमाथि थोपर्ने गरिएको छ।
यस्ता गतिविधिबाट आफूहरूले पाउनुपर्ने सेवा सुविधा खोसिएको भन्दै कैदीबन्दीहरूले शुक्रबार कारागारभित्र आन्दोलन गरेका थिए। कैदीबन्दीका अनुसार प्रतिकैदी चार हजार रुपैयाँ पोसाकबापत उपलब्ध गराउनुपर्ने भए पनि प्रशासनले दुई हजार पाँच सय रुपैयाँ मात्रै वितरण गरेको छ। रासन आपूर्तिमा समेत कर्मचारी, चौकीदार र नाइकेको मिलेमतोमा अनियमितता हुने गरेको आरोप लगाइएको छ।
कैदीबन्दीहरूले कारागार प्रशासनको आलोचना गर्ने बन्दीलाई झुटा प्रतिवेदन तयार गरी अन्य जिल्लाका कारागारमा सरुवा गर्ने गरिएको गुनासो पनि गरेका छन्। यसरी चौकीदार र नाइकेसँग मिलेर कारागारका कर्मचारीहरूले कैदीका लागि छुट्याइएका सेवा सुविधाबाट अनुचित लाभ लिने गरेको आरोप छ।
कारागार ऐन, २०७९ अनुसार बन्दीलाई मौसमअनुसारको पोसाक उपलब्ध गराउनुपर्ने व्यवस्था भए पनि कञ्चनपुर कारागारले वर्षमा दुई पटक नगद चार हजार रुपैयाँ दिने निर्णय गरेको र सो रकमसमेत पूर्ण रूपमा उपलब्ध नगराइएको कैदीबन्दीको भनाइ छ। यस विषयमा विरोध हुँदा शुक्रबार सामान्य कैदी र नाइकेबीच भनाभन भई झडपको अवस्था सिर्जना भएको थियो।
कैदीबन्दीहरूले यसपटक पोसाकबापतको रकममा करिब तीन लाख ८४ हजार रुपैयाँ अनियमितता भएको दाबी गरेका छन्। कारागारभित्र भएको झडपमा नाइके र सहनाइकेसहित आठ जना गम्भीर घाइते भएका छन्। घाइते हुनेहरूमा किरण सिंह, मदन गिरी, सन्दीप भण्डारी, जनक खड्का, दिनेश कुँवर, राजेन्द्र सुनार, रोशन शाही र करण कुँवर रहेका छन्। उनीहरूको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
कारागार व्यवस्था ऐनअनुसार जिल्ला अदालतका न्यायाधीशले वर्षमा कम्तीमा एक पटक कारागार निरीक्षण गर्नुपर्ने भए पनि चालु आर्थिक वर्षमा कञ्चनपुर कारागारको निरीक्षण नभएको बताइएको छ। विगतमा गरिएको अनुगमनले पनि कैदीबन्दीका समस्या समाधानतर्फ ध्यान नदिएको आरोप उनीहरूले लगाएका छन्।
त्यसैगरी प्रमुख जिल्ला अधिकारीले तीन महिनामा कम्तीमा एक पटक कारागार निरीक्षण गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि पछिल्लो तीन महिनायता निरीक्षण नभएको कारागार प्रशासनले जनाएको छ। हाल कञ्चनपुर कारागारमा १६ जना नाइकेसहित ३८४ जना कैदीबन्दी रहेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित