कञ्चनपुर कारागार प्रकरणमा छानबिन समिति गठन

सार्थक ब्यूरो । कञ्चनपुर कारागारमा देखिएको विवाद र भ्रष्टाचारसम्बन्धी आरोपबारे अनुसन्धान गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आइतबार सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा समिति बनाएको हो। समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धर्मराज उपाध्याय र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहोरा सदस्य रहेका छन्।
कारागारभित्र गत शुक्रबार कैदीबन्दीले प्रशासनिक पक्षसँग असन्तुष्टि जनाउँदै प्रदर्शन गरेका थिए। सो क्रममा कारागार प्रशासक, चौकीदार तथा नाइकेविरुद्ध आक्रोश व्यक्त भएको थियो। घटनाका कारण केही व्यक्ति घाइतेसमेत भएका छन्।
कैदीबन्दी आन्दोलित बनेपछि घटनाको यथार्थ पत्ता लगाउन छानबिन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार कारागारभित्र सेवा–सुविधा वितरण, प्रशासनिक अभ्यास तथा अन्य गतिविधिबारे विस्तृत अनुसन्धान गरिनेछ।
कैदीबन्दीले आफूहरूले पाउँदै आएको सेवा–सुविधामा कारागार प्रशासनका केही कर्मचारी, मूल चौकीदार, नाइके र सहनाइकेको मिलेमतोमा अनियमितता हुँदै आएको गुनासो गरेका छन्। दैनिक भत्ता र खाद्यान्न वितरणमा समेत पारदर्शिता नभएको उनीहरूको आरोप छ।
यस्तै, सरकारले प्रदान गर्ने छुट सुविधामा पनि आर्थिक चलखेल हुने गरेको, सुविधा लागू गरिदिने नाममा ठूलो रकम असुल्ने गरिएको तथा फोन प्रयोगजस्ता सेवाबाट मासिक रूपमा ठूलो रकम उठाइने गरेको आरोप कैदीबन्दीले लगाएका छन्। कारागारभित्र अवैध वस्तुको कारोबार हुने गरेको र पद–जिम्मेवारी तोक्दा समेत रकम लिने गरिएको गुनासो पनि सार्वजनिक भएको छ।
कैदीबन्दीले हाल कार्यरत मूल चौकीदार, नाइके, सहनाइके, निमित्त जेलर तथा लेखापालमाथि कारबाही गर्न र नयाँ नेतृत्व व्यवस्था गर्न माग गरेका छन्।
छानबिन समितिका संयोजक जोशीले कारागारभित्र हुने भनिएका अवैध कारोबार, भ्रष्टाचार तथा चौकीदार, नाइके र सहनाइके नियुक्ति प्रक्रियासम्बन्धी विषयमा गहिरो अनुसन्धान सुरु गरिएको बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित