सार्थक डेस्क।नेपाली राजनीतिमा नयाँ अनुहारहरूलाई आशाको प्रतीकका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति नयाँ होइन । तर इतिहासले पटक–पटक प्रमाणित गरिसकेको तथ्य के हो भने, अनुहार फेरिँदैमा व्यवस्था र शक्ति संरचना फेरिँदैन । गगन थापा आए ,उनी “परिवर्तनका नायक” बनाइए, समयसँगै उनी पनि व्यवस्थाकै हिस्सा बने । त्यसपछि रवि लामिछाने आए ,भ्रष्टाचार र काण्डै–काण्डको राजनीतिको केन्द्र बने । अब लोकप्रियताको आडमा बालेन शाहलाई देशै बदल्ने पात्रको रूपमा प्रस्तुत गरिँदैछ । तर तीन वर्षमा एउटा महानगरको संरचनागत रूपान्तरण गर्न नसक्ने नेतृत्वले अब राष्ट्र रूपान्तरण गर्छ भन्ने भ्रम क्रमशः चिरिँदै गएको छ ।
बालेनको लोकप्रियता उनको स्वतन्त्र छविसँग गाँसिएको थियो । दलगत राजनीतिबाट टाढा बसेको, “सिस्टमविरुद्ध बोल्ने” छविले उनलाई युवामाझ आकर्षक बनाएको हो । तर विवादित छवि बोकेको, वैचारिक अस्पष्टतामा अल्झिएको रवि लामिछाने नेतृत्वको दलसँग नजिकिँदै जाँदा बालेनको त्यो आकर्षण तीव्र गतिमा क्षय हुँदै गएको देखिन्छ । यहाँ “काम गर्ने कालू, मकै खाने भालु” भन्ने उखान जस्तै स्थिति देखिन्छ ,नारा परिवर्तनको, तर व्यवहार सत्ताको भर्याङ चढ्ने ।
राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीति पुराना दललाई गाली गर्ने र आफूलाई वैकल्पिक देखाउने सीमाभन्दा माथि उठ्न सकेको छैन । स्पष्ट वैचारिक दिशा, भूराजनीतिक चेतना र दीर्घकालीन राज्य–दृष्टिको अभावमा यस्तो राजनीति जनतासँगको दूरी घटाउने होइन, झन् बढाउने दिशामा अघि बढिरहेको छ ।
भाद्र २३ गतेको भनिएको “शान्तिपूर्ण प्रदर्शन” योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरिनु र केही युवाले ज्यान गुमाउनु सामान्य संयोग होइन । त्यसको भोलिपल्ट भाद्र २४ गते राज्यका आधारस्तम्भ ,सिंहदरबार, संसद र सर्वोच्च अदालत ,माथि प्रतीकात्मक र भौतिक आक्रमण हुनु गम्भीर राजनीतिक संकेत हो । यी घटनाहरूलाई केवल आन्तरिक असन्तुष्टिको विस्फोट भनेर बुझ्नु भूल हुनेछ । यो नेपाललाई अस्थिर बनाउँदै भूराजनीतिक खेलको गोटी बनाउने रणनीतिक प्रयासको प्रारम्भिक चरण हो, जसको पछाडि पश्चिमी शक्ति केन्द्र र भारतीय प्रभावक समूहहरूको दीर्घकालीन स्वार्थ गाँसिएको देखिन्छ ।
यही सन्दर्भमा बालेन र रविको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता देखिनु, साथै माओवादी र राजावादी धाराबाट समेत यस्ता गतिविधिप्रति मौन समर्थन वा सहानुभूति देखिनु गम्भीर चिन्ताको विषय हो । विदेशी शक्तिहरूको रणनीति सधैँ एउटै रहँदै आएको छ ,स्थापित संस्थामाथि अविश्वास सिर्जना गर्ने, युवाको आक्रोशलाई प्रयोग गर्ने र अन्ततः राज्यलाई कमजोर बनाउने । रवि–बालेन केन्द्रित राजनीति यही खाँचोअनुसार प्रयोग गरिँदैछ कि भन्ने प्रश्न गम्भीर रूपमा उठेको छ ।
अबको निर्वाचनको मूल प्रश्न स्पष्ट हुँदैछ ,के हामी सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत जलाउने अराजक धार रोज्छौँ, कि ती संरचनाहरू निर्माण गर्ने र भत्काउनेमाथि कडाइका साथ कारबाही गर्ने राजनीतिक शक्तिलाई साथ दिन्छौँ ? विडम्बना के हो भने, “जलाउने” धारको नेतृत्व रवि–बालेनहरूले गरिरहेको देखिँदा, “जोगाउने” जिम्मेवारी पुराना दलहरूले नै बोक्नुपर्ने यथार्थ पुनः स्थापित हुँदैछ ।
समस्या पुराना दलको अस्तित्व स्वयं होइन, तिनमा मौलाएको विकृति, भ्रष्टाचार र अवसरवाद हो । त्यसको समाधान नयाँ दल खोल्दैमा हुँदैन । समाधान भनेको पुराना दललाई परिमार्जन गर्दै, संस्थागत सुधारमार्फत राजनीति शुद्धीकरण गर्नु हो । रवि र बालेन केन्द्रित व्यक्तिवादी स्वार्थको अभियान स्पष्ट नीति, विचार र दीर्घकालीन खाकाबिनै अघि बढिरहेको छ, जसले देशलाई स्थायित्व होइन, थप अस्थिरतातर्फ धकेल्ने जोखिम बोकेको छ ।
यस्तो गम्भीर घडीमा संविधान, लोकतन्त्र र राष्ट्रिय सार्वभौमिकताका पक्षधर शक्तिहरू एकजुट हुनैपर्छ । नत्र नयाँ बोतलमा पुरानै रक्सी पिउँदै, विदेशी दलालहरूले तयार पारेका भ्रमको बजारमा हामी फेरि–फेरि उही गल्ती दोहोर्याइरहनेछौँ ।


















Discussion about this post