निर्वाचनमा कांग्रेस–एमालेबीच बराबरी सिट बाँडफाँटसहित सहकार्य सम्भव : बादल

सार्थक ब्यूरो । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आगामी निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेले समान सिट संख्या बाँड्दै सहकार्यका साथ अघि बढ्न सक्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा मदन–आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले वर्तमान अवस्थामा कांग्रेस र एमालेबीच तत्काल सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे । उनले मुलुक गम्भीर संकटको चरणमा रहेको उल्लेख गर्दै त्यसबाट बाहिर निस्कन दुवै दलले संयुक्त मोर्चा बनाएर अघि बढ्न ढिलाइ गर्न नहुने बताए ।
थापाका अनुसार कांग्रेस र एमालेजस्ता प्रमुख लोकतान्त्रिक शक्तिहरूको साझा आन्दोलनबाट लोकतन्त्रलाई पुनःस्थापित गर्न सकिन्छ । उनले दुवै दलको सहकार्यले मात्र देशको राष्ट्रिय स्वाधीनता र अस्तित्व जोगाउन सक्ने दाबी गरे ।
उनले अबको लोकतन्त्र पुनःस्थापनाका लागि स्पष्ट रणनीति र कार्यनीति तत्काल तय गर्नुपर्नेमा जोड दिए । संसद पुनःस्थापना वा निर्वाचन—दुवै विकल्पमार्फत कांग्रेस–एमालेले प्रतिगमनकारी शक्तिलाई परास्त गर्दै देशलाई सही दिशातर्फ लैजानुपर्ने उनको भनाइ थियो ।
उपाध्यक्ष थापाले नयाँ संसद गठन गरेर होस् वा विघटित संसद पुनःस्थापना गरेर, दुवै माध्यमबाट अघि बढ्न सकिने उल्लेख गरे । वामपन्थी लोकतान्त्रिक शक्तिहरूको वर्चस्व स्थापित गरेर फेरि लोकतन्त्रलाई मजबुत बनाउन सकिने उनको तर्क थियो ।
उनका अनुसार अदालत वा जनआन्दोलनको माध्यमबाट फागुन २१ सम्ममा विघटित संसद पुनःस्थापनाको सम्भावना कायम छ । उनले फागुन २१ मा तोकिएको निर्वाचन नहुन पनि सक्ने संकेत गर्दै त्यस अवस्थामा पनि लोकतन्त्रवादी शक्तिहरूले एकजुट भएर प्रतिगमनविरुद्ध लड्नुपर्ने बताए ।
थापाले भदौ २३ र २४ गते मुलुकमा प्रतिक्रान्ति भएको दाबी गर्दै त्यसले देशलाई गहिरो संकटतर्फ धकेलेको उल्लेख गरे । यस्तो परिस्थितिको समाधान कांग्रेस र एमालेको संयुक्त पहलबाट मात्र सम्भव हुने उनको निष्कर्ष थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित