धनगढीमा राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र, मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा

सार्थक ब्यूरो ।आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै धनगढीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका दुई सिटका लागि हुने निर्वाचन व्यवस्थापनका लागि प्रदेशस्तरीय कार्यालय सञ्चालनमा ल्याइएको हो।
बुधबार कैलाली जिल्ला अदालतका जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत भुवन सिंह थापा र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले संयुक्त रूपमा कार्यालयको उद्घाटन गरेका छन्। कार्यालय स्थापना भएसँगै राष्ट्रियसभा निर्वाचनसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने जनाइएको छ।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले कार्यालय सञ्चालनमा आएसँगै निर्वाचन कार्यतालिका कार्यान्वयन, राजनीतिक दलसँग समन्वय, उम्मेदवार मनोनयन, मतदाता नामावली व्यवस्थापनलगायतका कामलाई तीव्रता दिइने जानकारी दिए। निर्वाचन स्वच्छ, निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न गर्न आवश्यक तयारी भइरहेको उहाँले बताए।
निर्वाचन कार्यतालिकाअनुसार पुस १९ गते मतदाता नामावली सार्वजनिक गरिनेछ भने पुस २३ गते राष्ट्रियसभा सदस्यका उम्मेदवारको मनोनयन दर्ता हुने छ। त्यसपछि उम्मेदवारको नामावली प्रकाशन, दाबी–विरोध, छानबिन र अन्तिम नामावली प्रकाशनका चरणहरू अघि बढाइनेछन्।
यस निर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा स्वतन्त्र उम्मेदवार पक्षधर मतदाताहरू सहभागी हुनेछन्। प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू मतदाताका रूपमा मतदान प्रक्रियामा संलग्न रहनेछन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगले तोकेको मापदण्डअनुसार सबै तयारी पूरा गरी समयमै निर्वाचन सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
कार्यक्रमअनुसार पुस १९ गते बिहान १० देखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ। सोही दिन नामावलीमाथि दाबी–विरोध तथा उजुरीमाथि छानबिन प्रक्रिया अघि बढाइनेछ। पुस २२ गते दिउँसो ३ देखि ४ बजेसम्म अन्तिम मतदाता नामावली सार्वजनिक गर्ने कार्यतालिका छ।
उम्मेदवार मनोनयन पुस २३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म हुनेछ। पुस २४ गते बिहान १० देखि अपराह्न ४ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्न सकिनेछ। पुस २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सकिने व्यवस्था छ भने सोही दिन १ देखि २ बजेसम्म अन्तिम उम्मेदवार नामावली प्रकाशन गरिनेछ।
पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म निर्वाचन चिह्न वितरण गरिनेछ। मतदान भने माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हुनेछ।
निर्वाचन आयोगका अनुसार सुदूरपश्चिम प्रदेशमा यस निर्वाचनका लागि कुल मतभार ६ हजार १५३ निर्धारण गरिएको छ। प्रदेशसभा सदस्य, नगर प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहनेछन्।
प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको मतभार १९ तोकिएको छ। दलहरू अलग–अलग रूपमा निर्वाचनमा सहभागी भएको अवस्थामा सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेस सबैभन्दा बलियो देखिएको छ।
काँग्रेससँग १८ जना प्रदेशसभा सदस्य र स्थानीय तहतर्फ ८६ जना प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष रहेका छन्। यस आधारमा काँग्रेसको कुल मतभार २ हजार ५८८ पुगेको छ। निर्वाचन आयोगको विवरणअनुसार दोस्रो स्थानमा रहेको नेकपाको मतभार १ हजार ८६९ छ भने नेकपा एमालेको मतभार १ हजार ५३३ रहेको छ।
यस्तै धनगढी उपमहानगरपालिकाका प्रमुख र बैतडीको डिलासैनी गाउँपालिकाका अध्यक्ष तथा रास्वपाका प्रदेशसभा सदस्य डा. तारा जोशीको ९९ मतभार रहेको छ। प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारी र एक जना स्थानीय तहका प्रतिनिधि निलम्बनमा रहेकाले उनीहरूको मतभार गणनामा समावेश नभएको निर्वाचन आयोगले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित