सार्थक ब्यूरो । कञ्चनपुर जिल्लाका वेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाले पालिकाभित्रका विद्यालयमा केही दिनका लागि सार्वजनिक बिदा दिएका छन् । दुवै स्थानीय तहले फरक–फरक कारण देखाउँदै पुस १९ गतेसम्म विद्यालय बन्द रहने निर्णय गरेका हुन् ।
वेदकोट नगरपालिकाले चिसो मौसम अझै केही दिन निरन्तर रहने सम्भावनालाई मध्यनजर गर्दै विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि विद्यालयमा जाडो बिदा दिने निर्णय गरेको जनाएको छ । नगरपालिकाको शिक्षा शाखाका अनुसार प्रतिकूल मौसमका कारण पठनपाठन प्रभावित भएपछि पुस १६ देखि पुस १९ गतेसम्म नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिइएको हो । उक्त बिदा विद्यालयले नियमानुसार पाउने बाँकी हिउँदे बिदाबाट समायोजन गरिने जनाइएको छ ।
पुस सुरु भएसँगै तराई क्षेत्रमा चिसो अत्यधिक बढ्दा जनजीवन प्रभावित बनेको छ । विशेषगरी बालबालिका, वृद्धवृद्धा, अशक्त तथा विपन्न वर्ग चिसोका कारण बढी जोखिममा परेका छन् ।
यसैबीच, भीमदत्त नगरपालिकाले पनि पुस १९ गतेसम्म नगरभित्रका विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले जारी गरेको सूचनामा बुधबारदेखि नगरस्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता तथा दोस्रो आधारभूत तहको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सञ्चालन हुने भएकाले सो अवधिभर विद्यालय बन्द रहने उल्लेख छ ।
भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीका अनुसार प्रतियोगिता अवधिभर निजी तथा सामुदायिक सबै विद्यालयमा बिदा लागू हुनेछ । साथै, उनले विद्यार्थी, शिक्षक र अभिभावकलाई खेलकुद प्रतियोगितामा सहभागिता, अवलोकन तथा अनुशासित रूपमा खेलका सकारात्मक पक्षहरूबाट सिकाइ लिन आग्रह गरेका छन् ।


















Discussion about this post