सार्थक ब्यूरो ।बैतडीमा चिसो मौसमको प्रभाव बढ्दै गएपछि सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गर्दै सहयोग कार्यक्रम सञ्चालन गरिएको छ। यसै क्रममा दशरथचन्द नगरपालिका–६ सेरामा रहेको गुरुकुल माध्यमिक विद्यालयमा अध्ययनरत बालविकासदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ।
दशरथचन्द नगरपालिका–६ का वडाध्यक्ष महेन्द्र कार्कीका अनुसार राधा माधव समिति बैतडी र डिभाइन युथ क्लबको संयुक्त आयोजनामा २८ जना विद्यार्थीलाई स्विटर र टोपी प्रदान गरिएको हो। चिसोका कारण पठनपाठनमा आउने कठिनाइ कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो।
डिभाइन युथ क्लबका अध्यक्ष नारायणदत्त जोशीले राधा माधव समितिले मानवीय सहयोग कार्यक्रमअन्तर्गत हरेक वर्ष जिल्लाका विभिन्न विद्यालयमा न्यानो कपडा वितरण गर्दै आएको जानकारी दिनुभयो। उहाँका अनुसार हालसम्म बैतडीका छ वटा विद्यालयका विद्यार्थी यस कार्यक्रमबाट लाभान्वित भइसकेका छन्।
कार्यक्रममा दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्द, वडा नं. ६ का वडाध्यक्ष महेन्द्र कार्की तथा राधा माधव समिति बैतडीका अध्यक्ष हरिदत्त जोशीलगायतले यस्ता सहयोगले बालबालिकाको विद्यालय पहुँच र अध्ययन निरन्तरतामा सकारात्मक प्रभाव पार्ने धारणा राख्नुभयो।


















Discussion about this post