सार्थक ब्यूरो ।बैतडी कारागारबाट भागेका एक जना कैदीबन्दी अझै फरार रहेका छन् । जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते कारागारबाट बाहिरिएका कैदीबन्दीमध्ये एक जना नियन्त्रणमा नआएकाले जिल्लामा सुरक्षा चुनौती थपिएको कारागार प्रशासनले जनाएको छ ।
कारागार कार्यालय बैतडीकी प्रमुख धारा भण्डारीका अनुसार उक्त घटनाका बेला फरार भएका ६२ जना थुनुवा तथा कैदीबन्दीमध्ये जबर्जस्तीकरणी मुद्दामा सजाय काटिरहेका राजेश लुहार अझै सम्पर्कविहीन छन् । पाटन नगरपालिका–३ गुजर घर भएका लुहारको खोजी कार्य निरन्तर जारी रहे पनि हालसम्म उनको अवस्था पत्ता लाग्न नसकेको उहाँले जानकारी दिनुभयो । अदालतको फैसलाअनुसार लुहार जबर्जस्तीकरणी मुद्दामा १० वर्ष कैद सजाय भोगिरहेका थिए ।
यसैबीच जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै फरार कैदीबन्दीलाई तत्काल सम्बन्धित निकायको सम्पर्कमा आउन आग्रह गरेको छ । स्वेच्छिक रूपमा उपस्थित नभएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो ।
फरार कैदीबन्दीको बारेमा कुनै जानकारी भए नजिकको प्रहरी कार्यालय वा सुरक्षा निकायलाई गोप्य रूपमा सूचित गर्न प्रशासनले सर्वसाधारणसँग आग्रह गरेको छ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरिसकेको सन्दर्भमा फरार कैदीबन्दीका कारण सुरक्षा चुनौती थपिएको प्रजिअ पौडेलले उल्लेख गर्नुभयो ।


















Discussion about this post