सार्थक ब्यूरो ।कञ्चनपुरको बेदकोट नगरपालिका हुँदै बग्ने चौधरनदीको प्रमुख सहायक राधानदीमा जलस्तर मापनका लागि ‘रडार लेभल सेन्सर’ (आरएलएस) जडान गरिएको छ । बाढीको पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले नदीमा आधुनिक प्रविधि जडान गरिएको हो ।
इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन, डिसिए नेपाल तथा नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) कञ्चनपुरको सहकार्यमा सञ्चालन भइरहेको ‘स्मार्ट’ परियोजनाअन्तर्गत उक्त सेन्सर जडान गरिएको परियोजना संयोजक राजकुमार सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार जल तथा मौसम विज्ञान कार्यालय अत्तरिया र बेदकोट नगरपालिकाको समेत प्राविधिक तथा संस्थागत सहकार्य रहेको छ ।
नदीमा जडान गरिएको रडार लेभल सेन्सरमार्फत नदीको जलस्तरसम्बन्धी तथ्याङ्क वास्तविक समयमै सङ्कलन भई सम्बन्धित निकायमा पुग्ने व्यवस्था गरिएको छ । यस प्रविधिबाट बर्खायाममा आउन सक्ने सम्भावित बाढीबारे समयमै पूर्वसूचना प्राप्त हुने र तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकको जिउधनको सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
सेन्सर सञ्चालनमा आएपछि बेदकोट नगरपालिकासँगै भीमदत्त नगरपालिका र बेलडाँडी गाउँपालिकाका तल्लो तटीय क्षेत्रका बासिन्दालाई बाढीको जोखिमबारे अग्रिम रूपमा सचेत गराउन सहयोग पुग्ने बताइएको छ । हाल प्रविधि जडानको काम सम्पन्न भइसकेको र वर्षा सुरु हुनुअगावै यसलाई जल तथा मौसम विज्ञान विभागको प्रणालीमा आवद्ध गरिने संयोजक सुनारले जानकारी दिनुभयो । त्यसपछि नदीको जलस्तर विभागको वेबसाइटमार्फत प्रत्यक्ष अवलोकन गर्न सकिनेछ ।
बेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहराले नगरपालिकाले विपद् जोखिम न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्नुभयो । यस किसिमको प्रविधिले सम्भावित बाढीबाट हुने क्षति कम गर्न र स्थानीय स्तरमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने उहाँको विश्वास छ ।


















Discussion about this post