पर्यटन विकासका लागि स्पष्ट कानुनी आधार आवश्यक : मुख्यमन्त्री शाह

सार्थक ब्यूरो ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पर्यटन क्षेत्रको प्रवर्धन र व्यवस्थापनका लागि आवश्यक ऐन, नियम तथा कार्यविधि निर्माण अपरिहार्य रहेको बताएका छन् । धनगढीमा आयोजित छलफल कार्यक्रममा बोल्दै उहाँले बडीमालिका र रामारोशन वनक्षेत्रलाई दिगो रूपमा संरक्षण गर्दै स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
मुख्यमन्त्री शाहले पर्यटन प्रवर्धन तथा वनक्षेत्र संरक्षणका लागि प्रदेश सरकारले आवश्यक कानुनी व्यवस्था अघि बढाइसकेको जानकारी दिनुभयो । धार्मिक तथा प्राकृतिक पर्यटकीय सम्भावना बोकेको बडीमालिका र रामारोशन क्षेत्रलाई प्रदेशको आर्थिक समृद्धिसँग जोड्न सकिने उहाँको भनाइ थियो ।
बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्रको संरक्षण र विकासलाई सँगसँगै अगाडि बढाउने विषयमा प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले ती क्षेत्रसँग सम्बन्धित विद्यमान समस्या र सम्भावनाबारे गहिरो छलफल आवश्यक रहेको बताए । स्थानीय तह, निजी क्षेत्र र स्थानीय समुदायको सहकार्यबाट पर्यटन विकास सम्भव हुने मुख्यमन्त्री शाहको धारणा थियो ।
छलफल कार्यक्रममा प्रदेश सभा सदस्यहरू नरेशकुमार शाही, झपट साउद, पदमबहादुर शाही, अक्कल रावल तथा बडीमालिका नगरपालिकाका प्रमुख अमर खड्कालगायतले आ–आफ्ना विचार राखेका थिए ।
यसै क्रममा बडीमालिका–रामारोशन वनक्षेत्रको सम्भाव्यता अध्ययनका लागि प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ । समितिमा वरिष्ठ भू तथा जलाधार अधिकृत डा. किशोर अर्याल, राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटाका वरिष्ठ अधिकृत लक्ष्मीराज जोशी, पर्यटन व्यवसायी पदमबहादुर सिंह, बडीमालिका नगरपालिकाका प्रमुख अमर खड्का, त्रिवेणी नगरपालिकाका प्रमुख कर्णबहादुर थापा र रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउद सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित