सार्थक ब्यूरो ।गैरसरकारी संस्था महासंघ नेपाल, जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा अमिर तिरुवा चयन भएका छन् । बुधबार सम्पन्न महासंघको २४ औँ साधारण सभा तथा १२ औँ जिल्ला अधिवेशनले तिरुवालाई सर्वसम्मत रूपमा अध्यक्षको जिम्मेवारी दिएको हो ।
अधिवेशनबाट उपाध्यक्षमा अञ्जु जोशी (भट्ट), सचिवमा शारदा जोशी, सहसचिवमा अम्बादत्त जोशी र कोषाध्यक्षमा नारु सिंह चयन भएका छन् । यस्तै, कार्यसमिति सदस्यमा सिता बोहरा, जानकी जोशी, दुर्गा बडूवाल, शिला रैका, ईश्वर उपाध्याय, नैनसिंह पाल, विनोद विक्रम जैरु, माया नेगी र लक्ष्मी चन्द निर्वाचित भएका छन् ।

नव निर्वाचित नेतृत्वले जिल्लाभित्र क्रियाशील गैरसरकारी संस्थाहरूलाई थप सुदृढ बनाउँदै सामाजिक विकासका क्षेत्रमा प्रभावकारी योगदान दिने प्रतिबद्धता जनाएको छ । अधिवेशनको उद्घाटन सत्रमा स्थानीय योजना निर्माण, कानुन तर्जुमा प्रक्रियामा नागरिक समाजको सहभागिता, वकालत तथा दिगो विकासमा संघसंस्थाको भूमिकाबारे बहुपक्षीय छलफल गरिएको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले गैरसरकारी संस्थाहरूले समाज रूपान्तरणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने र कार्यक्रमहरू औपचारिकतामा मात्र सीमित नराखी जनस्तरसम्म प्रभाव पार्ने खालका हुनुपर्नेमा जोड दिएका थिए । साथै, जनजीविकासँग प्रत्यक्ष जोडिएका मुद्दालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो ।
यसै अवसरमा, गैरसरकारी संस्था महासंघ नेपाल, जिल्ला शाखा कञ्चनपुरमा आबद्ध संघसंस्थाहरूले नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष सुरेश धामीको उपचारका लागि ७३ हजार ९०५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाकी महिला उपाध्यक्ष धर्मा रोकायाले गैरसरकारी संस्थाहरूले सञ्चालन गर्ने कार्यक्रम तथा गतिविधिबारे पत्रकार महासंघलाई पूर्वजानकारी गराई सहजीकरण गर्न आग्रह गरेकी थिइन् ।


















Discussion about this post