सार्थक ब्यूरो । प्रतिनिधिसभा सदस्य निर्वाचन हुन अब करिब ५५ दिन बाँकी रहँदा निर्वाचन आयोगले राजनीतिक दललाई निश्चित शुल्कका आधारमा देशभरका मतदाताको विवरण उपलब्ध गराउने व्यवस्था गरेको छ ।
आयोगले जारी गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी निर्देशिकाअनुसार निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दलले औपचारिक पत्रका आधारमा मतदाता नामावली लिन सक्नेछन् । देशभरका मतदाताको विवरण प्राप्त गर्न दलले रु १० हजार शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
आयोगका अनुसार मतदाताको जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बरबाहेकका विवरण विद्युतीय माध्यमबाट उपलब्ध गराइनेछ । आयोगले सो विवरण हार्डड्राइभ वा पेनड्राइभमार्फत उपलब्ध गराउने जनाएको छ ।
यदि कुनै दललाई एक प्रदेशको मात्र मतदाता विवरण आवश्यक भएमा रु पाँच हजार शुल्क तिरेर लिन सकिनेछ । यस्तै, निर्वाचन अधिकृतले मतदाता, दलका प्रतिनिधि वा उम्मेदवारले मतदाता नामावली हेर्न वा आफ्नै खर्चमा प्रतिलिपि लिन चाहेमा नामावली क्षति नपुग्ने गरी हेर्न वा सार्न दिनुपर्ने व्यवस्था गरिएको छ ।
निर्देशिकाअनुसार फोटोसहितको मतदाता नामावली सम्बन्धित मतदाताले मात्र हेर्न पाउनेछन् भने फोटोबाहेकको नामावली सर्वसाधारणले पनि अवलोकन गर्न सक्नेछन् । यसबारे मतदाता, राजनीतिक दल र उम्मेदवारलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ ।
कुनै मतदाताले आफ्नो व्यक्तिगत मतदाता विवरण चाहेको खण्डमा निर्वाचन कार्यालयले रु १० हजार शुल्क लिएर सोही मतदातासम्बन्धी विवरण मात्र समेटिएको मतदाता नामावलीको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ ।
यसैगरी, आयोगमा दर्ता भएका राजनीतिक दललाई दलको पत्रका आधारमा र स्वतन्त्र उम्मेदवारलाई निवेदनका आधारमा मतदाता नामावलीको विद्युतीय विवरण उपलब्ध गराइनेछ । जिल्लाभरको मतदाता नामावलीका लागि रु तीन हजार र कुनै एक निर्वाचन क्षेत्रको मतदाता नामावलीका लागि पनि रु तीन हजार दस्तुर तोकिएको छ ।
आयोगले यस्तो विवरण उपलब्ध गराउँदा मतदाताको जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बर भने समावेश नगर्ने स्पष्ट गरेको छ ।


















Discussion about this post