आज सरस्वती पूजा, विद्याकी देवीको आराधनासहित श्रीपञ्चमी पर्व मनाइँदै

सार्थक ब्यूरो ।माघ शुक्ल पञ्चमीका अवसरमा मनाइने श्रीपञ्चमी पर्व आज देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गर्दै मनाइँदैछ । यस पर्वलाई सरस्वती पूजा तथा बसन्त पञ्चमीका रूपमा पनि चिनिन्छ ।
श्वेत वर्ण, हातमा वीणा र पुस्तक धारण गरेकी देवी सरस्वतीलाई ज्ञान, वाणी र सिर्जनाकी प्रतीक मानिन्छ । भक्तजनहरूले उनलाई भारती, शारदा, हंसवाहिनी, वागीश्वरी, वरदायिनी, बुद्धिदात्रीलगायत विभिन्न नामले स्मरण गर्दै श्रद्धापूर्वक पूजा गर्ने चलन छ ।
विद्या र कलाकी देवीका रूपमा पूजिने सरस्वतीको विशेष महत्व साहित्यकार, कलाकार, पत्रकार, शिक्षक तथा विद्यार्थीमाझ रहेको छ । आजका दिन उनीहरूले कलम, कापी, पुस्तक, कुची र वाद्ययन्त्रजस्ता अध्ययन तथा सिर्जनासँग सम्बन्धित सामग्रीलाई पूजा गरी आशीर्वाद लिने गर्छन् । तान्त्रिक परम्परामा सरस्वतीलाई तारादेवीका रूपमा पनि मान्ने गरिन्छ ।
सूर्य उत्तरायणतर्फ प्रवेश गरी दिन लामो हुन थाल्ने र बसन्त ऋतुको आरम्भ हुने विश्वासका कारण आजको दिनलाई बसन्त पञ्चमी पनि भनिन्छ । वैदिक ग्रन्थ ऋग्वेदमा वाग्देवीका रूपमा वर्णित ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको उपासनाबाट ज्ञान, विवेक र सद्बुद्धि प्राप्त हुने उल्लेख गरिएको छ ।
यसै कारण सरस्वती पूजालाई विशेष महत्व दिइन्छ । धार्मिक विश्वासअनुसार आजको दिन विद्यारम्भ गरेमा सफलताको प्राप्ति हुन्छ । विवाह, व्रतबन्ध, गुफा राख्ने तथा इहीजस्ता संस्कारका लागि साइत नहेरी गर्न सकिने मान्यता रहे पनि यस वर्ष शुक्र अस्त भएकाले विवाह र व्रतबन्धका कार्य भने नगर्ने जनाइएको छ ।
यस दिन बालबालिकालाई अक्षरारम्भ गराउने, शिक्षारम्भ गराउने तथा नाक–कान छेड्ने कार्यलाई पनि शुभ मानिन्छ । साथै सरस्वतीलाई अर्पण गरिएको सात गेडा अक्षता सेवन गर्दा विद्या र बुद्धिको विकास हुने धार्मिक विश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित