शहीद सप्ताहको औपचारिक सुरुआत, लोकतन्त्रका बलिदानीको स्मरण

सार्थक ब्यूरो ।देशमा विभिन्न राजनीतिक आन्दोलनका क्रममा प्राण आहुति दिनुहुने शहीदहरूको सम्झनामा आजदेखि शहीद सप्ताह सुरु गरिएको छ। प्रजातन्त्र स्थापनाका लागि जीवन बलिदान दिनुभएका अमर शहीद शुक्रराज शास्त्रीको स्मृतिमा शनिबार काठमाडौँको टेकुस्थित उहाँको सालिकमा माल्यार्पण गर्दै सप्ताहको औपचारिक सुरुआत गरिएको हो।
वि.सं. १९९७ माघ १० गते तत्कालीन राणा शासनले शास्त्रीलाई टेकुको पचलीमा मृत्युदण्ड दिएको थियो। सोही ऐतिहासिक दिनको स्मरणमा उहाँको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै शहीद सप्ताह मनाउन थालिएको आयोजकले जनाएको छ। कार्यक्रममा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सालिकमा माला र पुष्प अर्पण गर्नुभयो।
शहीद सप्ताहअन्तर्गत माघ १३ गते सिफलमा धर्मभक्त माथेमाको स्मरण गरिनेछ भने माघ १५ गते शोभाभगवतीमा दशरथ चन्द र गङ्गालाल श्रेष्ठको बलिदानलाई श्रद्धाञ्जली अर्पण गरिने कार्यक्रम रहेको छ। सात दिनसम्म विभिन्न कार्यक्रम गरी माघ १६ गते शहीद दिवस मनाइने परम्परा रहेको छ।
यस अवसरमा कार्यवाहक प्रमुख डंगोलले इतिहासलाई केवल स्मरण र पाठ्यक्रममा सीमित नगरी त्यसबाट पाठ सिकेर वर्तमानमा सही मार्ग अवलम्बन गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले शहीद सप्ताहलाई औपचारिक कार्यक्रमका रूपमा मात्र नभई नागरिक जिम्मेवारी बोध गर्ने अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्नुभयो।
डंगोलले अन्यायविरुद्ध आवाज उठाउनु, जनताप्रति इमान्दार र उत्तरदायी हुनु नै शहीदहरूले दिएको मुख्य सन्देश भएको बताउँदै साहित्य र चेतनामार्फत समाज रूपान्तरणमा शुक्रराज शास्त्रीको योगदान ऐतिहासिक र अविस्मरणीय रहेको धारणा राख्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित