सार्थक ब्यूरो ।सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले) की लीला भण्डारी र नेपाली कांग्रेसका खम्मबहादुर खाती विजयी हुनुभएको छ। आज सम्पन्न निर्वाचनमा उहाँहरूले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारलाई पराजित गर्दै राष्ट्रिय सभामा स्थान सुरक्षित गर्नुभएको हो।
महिला समूहअन्तर्गत एमाले उम्मेदवार भण्डारीले तीन हजार ९८४ मतभार प्राप्त गर्दै जीत हासिल गर्नुभयो। उहाँसँग प्रतिस्पर्धामा रहेकी नेपाली कम्युनिस्ट पार्टीकी रोजी बस्नेत सुनारले एक हजार ६७६ मतभार पाउनुभयो।
त्यसैगरी अन्य समूहअन्तर्गत कांग्रेसका उम्मेदवार खातीले तीन हजार ९६९ मतभारसहित विजयी हुनुभयो। उहाँका प्रतिद्वन्द्वी टीकाराम जैसीले एक हजार ८०५ मतभार प्राप्त गर्नुभयो।
निर्वाचन प्रणालीअनुसार प्रदेश सभा सदस्य बराबर ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष बराबर १९ मतभार कायम गरिएको थियो। यस निर्वाचनमा एमाले र कांग्रेसबीच गठबन्धन रहेको थियो।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टका अनुसार प्रदेश सभाका ५१ जना र स्थानीय तहका १७३ जना गरी कुल २२४ मतदाता रहेको सुदूरपश्चिममा २२० मत खसेको छ।


















Discussion about this post