सार्थक ब्यूरो । उपत्यकासहित देशका विभिन्न भू–भागमा बुधबार बिहानदेखि बाक्लो कुहिरो र बादल छाएको छ, जसका कारण सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ।
पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएसँगै मौसम धुमिल भएपछि सडक यातायात, हवाई सेवा र आम जनजीवनमा असर परेको हो। काठमाडौँमा बिहानैदेखि दृश्यता अत्यन्तै कम रहँदा सवारी साधन सञ्चालनमा कठिनाइ देखिएको छ।
कुहिरोका कारण सडकमा आवतजावत जोखिमपूर्ण बनेको छ। दुर्घटनाको सम्भावना बढेपछि धेरै मानिस बिहानको समयमा घरबाहिर ननिस्कन सतर्कता अपनाएका छन्। यसको प्रत्यक्ष असर हवाई यात्रुहरूमा परेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कम दृश्यताका कारण अधिकांश उडानहरू ढिलो भएका छन् भने केही उडान रद्दसमेत भएका छन्। आन्तरिक उडान सेवासमेत अवरुद्ध हुँदा यात्रुहरू विमानस्थलमै लामो समय कुर्न बाध्य भएका छन्।
यसैबीच, पहाडी तथा हिमाली क्षेत्रमा भइरहेको वर्षा र हिमपातले जनजीवन झन् कष्टकर बनेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने उच्च भेगमा हिमपातका कारण सडक अवरुद्ध हुनुका साथै दाउरा र घाँस संकलनमा समस्या देखिएको छ।
कोशी र मधेश प्रदेशका केही भूभागमा परेको हल्का वर्षाले पनि दैनिक गतिविधिमा अवरोध पुर्याएको छ। मौसमविद्हरूका अनुसार यस्तो मौसमीय प्रभाव केही दिनसम्म कायमै रहन सक्ने अनुमान गरिएको छ। यस अवस्थालाई मध्यनजर गर्दै यात्रु, हवाई सेवामा निर्भर व्यक्तिहरू तथा पहाडी क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।


















Discussion about this post