सार्थक ब्यूरो।राष्ट्रका लागि जीवन बलिदान गर्ने अमर शहिदहरूप्रति श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गर्ने उद्देश्यले भक्तपुर–२, मिबाछेंस्थित एभरेस्ट स्कुलमा शहिद दिवस भव्य र मर्यादित रूपमा मनाइएको छ । कार्यक्रममा कवि भूपी शेरचनका देशभक्तिपूर्ण भावनालाई स्मरण गर्दै राष्ट्रनिर्माणमा शहिदहरूको योगदानबारे चर्चा गरिएको थियो ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा नेपालका मुख्य चार शहिदसहित विभिन्न कालखण्डका ज्ञात तथा अज्ञात सम्पूर्ण शहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरियो । साथै, शहिदहरूले देखाएको मार्गलाई आत्मसात् गर्दै देश र समाजप्रति जिम्मेवार ढंगले अघि बढ्ने संकल्प व्यक्त गरिएको थियो ।
सामाजिक अध्ययन विभागको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कक्षा ४ देखि १० सम्मका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रम उद्घाटन गर्दै विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले शहिदहरू राष्ट्र र जनताका लागि हाँसी–हाँसी जीवन अर्पण गरी अमर बनेको उल्लेख गर्नुभयो । उहाँले शहिदहरूको बलिदानले देशलाई स्वतन्त्रता, अधिकार र लोकतान्त्रिक मूल्यतर्फ डो¥याएको बताउँदै उनीहरू इतिहासमा मात्र सीमित नरही आज पनि हाम्रो चेतनामा जीवित रहेको धारणा राख्नुभयो ।
उहाँले विद्यार्थीहरूमा सानै उमेरदेखि शहिदहरूको त्याग र बलिदानबारे चेतना विकास गर्दै राष्ट्रप्रेम, कर्तव्यबोध र जिम्मेवारीको भावना जगाउनु विद्यालय शिक्षाको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्नुभयो । देशका लागि आवश्यक परे जुनसुकै त्याग गर्न तयार हुने भावना नै साँचो देशभक्ति भएको उहाँको भनाइ थियो ।
कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरूले शहिदहरूको सम्झनामा देशभक्तिपूर्ण कविता, कथा, लेख तथा मन्तव्य प्रस्तुत गरेका थिए । विद्यार्थीहरूको प्रस्तुतीले शहिदहरूको योगदान र वर्तमान पुस्ताले वहन गर्नुपर्ने सामाजिक दायित्वबारे चेतना अभिवृद्धि गराएको सहभागीहरूको भनाइ थियो ।
शहिदप्रति उच्च सम्मान व्यक्त गर्दै र उनीहरूले देखाएको बाटोमा अघि बढ्ने प्रतिबद्धतासहित कार्यक्रम समापन गरिएको थियो । उपस्थित सबैले शहिदहरूको सपना साकार पार्न इमानदार, जिम्मेवार र देशप्रति समर्पित नागरिक बन्ने संकल्प व्यक्त गरेका थिए ।


















Discussion about this post