सार्थक ब्यूरो।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोग निर्वाचन आचारसंहिता पालना गराउन थप सक्रिय बनेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन निर्वाचन आचारसंहिता, २०८२ लागू गरी त्यसको प्रभावकारी कार्यान्वयनमा आयोग जुटेको हो ।
आयोगले आचारसंहिताको पूर्ण पालना सुनिश्चित गर्न राजनीतिक दल, उम्मेदवार, संस्था तथा अन्य सरोकारवाला सबै पक्षको ध्यानाकर्षण गराउँदै आएको जनाएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरी तथा सूचनाका आधारमा हालसम्म राजनीतिक दल, उम्मेदवार र विभिन्न संस्थासहित २१ जनासँग स्पष्टीकरण माग गरिएको आयोगले जानकारी दिएको छ । तीमध्ये पाँच वटाको मात्र जवाफ प्राप्त भएको र बाँकीका लागि निरन्तर ताकेता भइरहेको आयोगको भनाइ छ ।
निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी मिथ्या, भ्रम फैलाउने तथा घृणास्पद अभिव्यक्ति दिने व्यक्ति वा समूहको निगरानी भइरहेको आयोगले जनाएको छ । यस्ता गतिविधिमा संलग्न व्यक्ति वा संस्थालाई सम्बन्धित नियामक निकायसँगको सहकार्यमा कानुनी दायरामा ल्याउन पहल भइरहेको आयोगको स्पष्टोक्ति छ ।
यसैबीच, आयोग अन्तर्गत स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रमा रहेको सूचना सदाचार प्रवर्द्धन इकाई पूर्ण रूपमा सक्रिय रहेको बताइएको छ । उक्त इकाईले पहिचान गरेका ३०२ वटा हानिकारक सूचना निर्वाचन आचारसंहिता, २०८२, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ तथा प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
निर्वाचनको मर्यादा र स्वच्छतामा असर पर्ने कुनै पनि गतिविधि देखिएमा आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय र जिल्ला आचारसंहिता अनुगमन अधिकृतसमक्ष लिखित, मौखिक वा विद्युतीय माध्यमबाट उजुरी दिन सकिने व्यवस्था गरिएको आयोगले स्पष्ट पारेको छ ।


















Discussion about this post