निर्वाचन सुरक्षा चुनौतीपूर्ण बन्दै : चार जिल्ला उच्च निगरानीमा

सार्थक ब्यूरो।सुदूरपश्चिम प्रदेशका बाजुरा, अछाम, दार्चुला र बझाङ जिल्ला निर्वाचन सुरक्षाको दृष्टिले संवेदनशील ठहरिएपछि ती जिल्लामा विशेष सुरक्षा रणनीति लागू गरिने भएको छ। विगतका निर्वाचनका अनुभव र घटनाको समीक्षा गर्दै प्रहरीले यी जिल्लालाई उच्च जोखिम सूचीमा राखेको हो।
प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक पदमबहादुर विष्टका अनुसार अघिल्ला निर्वाचनका बेला भएका अवाञ्छित गतिविधिको अध्ययनपछि चार जिल्लामा थप सतर्कता अपनाउने निर्णय गरिएको हो। उहाँले निर्वाचनलाई प्रभावित पार्न सक्ने समूह तथा व्यक्तिमाथि निगरानी बढाइँदै आवश्यक सुरक्षा तयारी अघि बढाइएको जानकारी दिनुभयो।
हिमाली तथा भौगोलिक रूपमा विकट क्षेत्रका मतदान केन्द्रबाट मतपेटिका सुरक्षित रूपमा सदरमुकामसम्म ल्याउन हेलिकप्टर प्रयोग गर्ने तयारी गरिएको छ। निर्वाचनका दिन हिमाली भेगमा हिमपातको सम्भावनालाई ध्यानमा राख्दै वैकल्पिक मतदान व्यवस्था अपनाउने विषयमा पनि छलफल भइरहेको प्रहरीले जनाएको छ।
दार्चुलाको उत्तरी भेग तिङ्कर र छाङरुङका बासिन्दा हिउँदमा गाउँ छाडेर सदरमुकाम नजिक बसोबास गर्ने भएकाले उनीहरूलाई सदरमुकाममै मतदान गर्न पाउने व्यवस्था मिलाइने तयारी छ। यस्तै, बाजुराका हिमाली क्षेत्रका केही पालिकामा हिउँदेयाममा परिवारसहित अन्य जिल्लातर्फ बसाइँ सर्ने चलन रहेकाले निर्वाचनको दिनसम्म उनीहरू गाउँ फर्कने–नफर्कने विषय अनिश्चित देखिएको छ।
प्रवक्ता विष्टका अनुसार सामान्यतया यस्ता परिवार चैततिर मात्र गाउँ फर्कने भएकाले मतदानको दिनसम्म उपस्थित नभए उनीहरूलाई कसरी मतदानको अवसर दिने भन्ने विषयमा सम्बन्धित निकायबीच छलफल भइरहेको छ।
निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन सवारीसाधन अभाव भएका प्रहरी कार्यालयमा थप सवारीको व्यवस्था गरिनेछ। बाजुरा, अछाम र डोटीका लागि वरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वमा छुट्टै सुरक्षा टोली परिचालन गरिने तयारी गरिएको छ। त्यसैगरी दार्चुला, बैतडी र कञ्चनपुर तथा बझाङ, कैलाली र डडेलधुराका लागि पनि अलग–अलग प्रहरी टोली परिचालन हुनेछन्।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र स्वच्छ रूपमा सम्पन्न गराउने उद्देश्यले प्रदेशभर सात हजार ३७४ नेपाल प्रहरी र १३ हजार ६६९ निर्वाचन प्रहरी खटाइनेछ। यसका अतिरिक्त सशस्त्र प्रहरी बल र नेपाली सेनाले पनि आ–आफ्नो सुरक्षा योजनाअनुसार जिम्मेवारी निर्वाह गर्नेछन्।
सुरक्षा मूल्याङ्कनका आधारमा प्रदेशका ३०२ मतदानस्थललाई सामान्य, ३९५ लाई संवेदनशील र ४८१ मतदानस्थललाई अतिसंवेदनशील तोकिएको छ। प्रदेशका नौवटै जिल्लामा प्रतिनिधिसभाका १६ निर्वाचन क्षेत्र रहेका छन्।
प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टका अनुसार विसं २०७८ को जनगणनाअनुसार प्रदेशको जनसङ्ख्या २६ लाख ९४ हजार ७८३ पुगेको छ भने कुल मतदाता संख्या १७ लाख १६ हजार ६६० रहेको छ। सबैभन्दा बढी मतदाता कैलालीमा पाँच लाख ५१ हजार ५२, कञ्चनपुरमा तीन लाख १४ हजार ३८५ र अछाममा एक लाख ६५ हजार ३३७ रहेका छन्।
यस्तै, डडेलधुरामा ९३ हजार ४०३, बैतडीमा एक लाख ५६ हजार ३७२, दार्चुलामा ९२ हजार ९४८, डोटीमा एक लाख २८ हजार ३९९, बझाङमा एक लाख २६ हजार ९०३ र बाजुरामा ८७ हजार ८६१ मतदाता रहेको विवरण सार्वजनिक गरिएको छ।
तीन वर्षअघि सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस आठ, तत्कालीन नागरिक उन्मुक्ति पार्टी तीन, नेकपा (एमाले) दुई र तत्कालीन नेकपा (एकीकृत समाजवादी) तीन निर्वाचन क्षेत्रमा विजयी भएका थिए। बदलिँदो राजनीतिक परिवेशबीच आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन विसं २०८२ फागुन २१ गते हुने तय भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित