सार्थक ब्यूरो।दार्चुला जिल्लाको उत्तरी भेग तिङ्कर र छाङ्रुका मतदाताले यसपटक सदरमुकाम खलङ्गा नजिकै मतदान गर्न पाउने भएका छन्। जाडो मौसमका कारण बेँसीतिर बसाइँ सरेका मतदातालाई लक्षित गर्दै खलङ्गा नजिकको तिङ्करखेडा क्षेत्रमा मतदानस्थलको व्यवस्था गरिने भएको हो।
जिल्ला निर्वाचन कार्यालय दार्चुलाका प्रमुख प्रदीप धामीका अनुसार जाडो छल्न परिवारसहित बेँसी झर्ने तिङ्कर र छाङ्रु क्षेत्रका बासिन्दा वैशाखपछि मात्रै गाउँ फर्किने भएकाले उनीहरू हाल बसोबास गरिरहेकै स्थानमा मतदानको व्यवस्था मिलाइएको हो। महाकाली नगरपालिका–४ अन्तर्गत पर्ने तिङ्करखेडामा मतदानस्थल र केन्द्र स्थापना गरिने उनले जानकारी दिए।
धामीका अनुसार तिङ्कर गाउँ (व्यास गाउँपालिका–१) का मतदाताका लागि मौतिमैला संघ आधारभूत विद्यालय र छाङ्रु गाउँका मतदाताका लागि कैलाशपति आधारभूत प्राथमिक विद्यालयमा मतदानस्थल तोकिएको छ। यसरी दुई वटा मतदानस्थलमार्फत मतदान गरिने व्यवस्था गरिएको हो।
प्रतिकूल मौसमका कारण स्थानीयको अनुरोधअनुसार निर्वाचन आयोगले उनीहरू बसेकै स्थानमा मतदान केन्द्र राख्न सहमति दिएको धामीले बताए। छाङ्रु गाउँमा ३७५ र तिङ्कर गाउँमा २४४ मतदाता रहेका छन्। व्यास गाउँपालिका–१ क्षेत्रमा आदिवासी सौका समुदायको बसोबास छ।
एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको दार्चुला जिल्लामा कुल ९२ हजार ९४८ मतदाता रहेका छन्। जिल्लाभर ११२ मतदानस्थल र १४३ मतदान केन्द्र स्थापना गरिनेछ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ११ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने निर्वाचन कार्यालयले जनाएको छ।


















Discussion about this post