आचारसंहिता उल्लङ्घन भए कानुनी कारबाही हुन्छ : आयुक्त तुलाधर

सार्थक ब्यूरो।आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। धनगढीमा सम्पन्न “निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले उल्लङ्घनका घटनामा वृद्धि भइरहेको भन्दै निगरानी र कारबाही सशक्त बनाउन आग्रह गरेका हुन्।
कार्यक्रममा वक्ताहरूले आयोगद्वारा जारी आचारसंहिता व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा मतदातामा निराशा बढेको उल्लेख गरे। राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले नियम पालना नगर्दा निर्वाचनको पारदर्शिता र निष्पक्षतामाथि प्रश्न उठ्न थालेको उनीहरूको भनाइ थियो।
अधिवक्ता हरिकृष्ण पाण्डेले मतदातालाई आर्थिक प्रलोभन देखाउने, प्रतिस्पर्धीविरुद्ध भ्रामक टिप्पणी गर्ने र डर–धम्की जस्ता गतिविधि बढ्दो रहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो। महिला अधिकारकर्मी गोमा आचार्यले सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोगले शान्तिपूर्ण निर्वाचनमा चुनौती थपिएको भन्दै सम्बन्धित निकायले कडा अनुगमन गर्नुपर्ने बताउनुभयो।
निर्वाचन आयोगकी आयुक्त डा. जानकी तुलाधरले आयोग शान्त, भयरहित र स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। आचारसंहिता विपरीत गतिविधि देखिए उजुरी दिने व्यवस्था रहेको र प्रमाणित भएमा कानुनी प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो। निर्वाचन सफल बनाउने जिम्मेवारी आयोग मात्र नभई राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र नागरिक समाज सबैको साझा दायित्व भएको उहाँको भनाइ थियो।
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले आचारसंहिता कडाइका साथ लागू नगरेसम्म विश्वसनीय निर्वाचन सम्भव नहुने बताउँदै सबै पक्षलाई जिम्मेवार बन्न आह्वान गर्नुभयो।
कार्यक्रममा पूर्व कानुन सचिव फणिन्द्र गौतम, निर्वाचन आयोगका उपसचिव विष्णुप्रसाद पौडेल तथा आयोगका सुदूरपश्चिम प्रदेश निमित्त प्रमुख प्रेमराज भट्टले आचारसंहिता कार्यान्वयनसम्बन्धी प्रस्तुति राख्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित