गौरमा पुन डुबानको त्रासः बाँध अग्ल्याउने र साइफन बन्द गर्ने कामप्रति स्थानीयको आपत्ति

प्रेमचन्द्र झा।रौतहटको गौर क्षेत्रमा बाँध मर्मतका नाममा भइरहेको संरचनागत कामले पुनः डुबानको जोखिम बढाउने भन्दै स्थानीय बासिन्दाले गम्भीर चिन्ता व्यक्त गरेका छन्। गौर भन्सार कार्यालयको पूर्वतर्फ बाँधको उचाइ थप बढाउने र साइफन बन्द गर्ने कार्य तीव्र रूपमा अघि बढिरहेको उनीहरूको भनाइ छ।
स्थानीयका अनुसार हरेक वर्ष वर्षायाममा गौर डुबानमा पर्ने प्रमुख कारण यही बाँध भएको दाबी गर्दै उनीहरूले तत्काल काम रोक्न माग गरेका छन्। दशगजा क्षेत्र नजिक कुनै पनि स्थायी संरचना निर्माण गर्न नपाइने अन्तर्राष्ट्रिय प्रावधान भए पनि दशगजाबाट करिब ३०–४० मिटर दूरीमा बाँध निर्माण तथा स्तरोन्नतिको काम भइरहेको उनीहरूको आरोप छ।
“मर्मतको नाममा बाँध झन् अग्लो बनाइँदैछ र पानी निकासका लागि बनाइएको साइफनसमेत बन्द गरिँदैछ। यसले वर्षायाममा पानीको बहाव रोकिने र गौर पुनः डुबानमा पर्ने सम्भावना बढ्छ,” रौतहटका समाजसेवी महमद अजादले बताए।
उनका अनुसार वडा अध्यक्ष, नगर प्रमुख, जिल्ला प्रशासन कार्यालय तथा सशस्त्र प्रहरी बललगायत निकायलाई जानकारी गराउँदा पनि कुनै प्रभावकारी पहल नभएको गुनासो छ। “हामीले पटक–पटक ध्यानाकर्षण गराएका छौं, तर कसैले गम्भीर रूपमा लिएको देखिँदैन,” अर्का एक स्थानीयले बताए।
स्थानीय बासिन्दाले चेतावनी दिएका छन् कि तत्काल विवादित काम रोकिएन भने आगामी वर्षायाममा गौर पुनः गम्भीर डुबानको जोखिममा पर्न सक्छ। यस विषयमा सरकारी निकाय र राजनीतिक दलका प्रतिनिधिहरू मौन बसेको आरोपसमेत लगाइएको छ।
उता, सम्बन्धित सरोकारवाला निकायको औपचारिक प्रतिक्रिया भने सार्वजनिक हुन बाँकी छ। स्थानीयले स्थलगत अनुगमन गरी निर्माण कार्य तत्काल रोक्न र दीर्घकालीन समाधानका लागि पहल गर्न माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित