राष्ट्रपतिद्वारा ग्याल्पो ल्होसारको शुभकामना, पर्वले राष्ट्रिय एकता सुदृढ गर्ने विश्वास

सार्थक ब्यूरो।राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वहरूले समाजमा आपसी सद्भाव र भाइचाराको भावना मजबुत बनाउने बताउनुभएको छ। ग्याल्पो ल्होसार २०८२ को अवसरमा जारी शुभकामना सन्देशमार्फत उहाँले नेपाल विविध जाति, भाषा, धर्म, संस्कृति र भौगोलिक विशेषताले सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै यस्ता पर्वहरूले सामाजिक तथा सांस्कृतिक ऐक्यबद्धता सुदृढ गर्ने धारणा व्यक्त गर्नुभयो।
उहाँका अनुसार ग्याल्पो ल्होसारजस्ता पर्वले नेपाली समाजमा सहिष्णुता, एकता र पारस्परिक विश्वास अभिवृद्धि गर्न मद्दत पुर्‍याउने छन्। यिनै मूल्य र परम्पराले बृहत् राष्ट्रिय एकतालाई थप सशक्त बनाउने विश्वास राष्ट्रपतिले व्यक्त गर्नुभएको छ।
राष्ट्रपतिले विशेषगरी शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
हिमाली क्षेत्रका आदिवासी शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायले फागुन शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्षका रूपमा ग्याल्पो ल्होसार मनाउने परम्परा छ। यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ।
पर्वका दिन समुदायले गाउँ–टोलका बाटो, घाटो तथा पानीका मूलहरूको सरसफाइ गर्ने, नौ प्रकारका अन्न मिसाएर बनाइने ‘गुथुक’ र ‘खाप्से’ जस्ता परिकार सामूहिक रूपमा ग्रहण गर्ने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षलाई स्वागत गर्ने चलन रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित