सार्थक डेस्क।कञ्चनपुर–३ मा चुनावी सरगर्मी बढ्दै जाँदा विकास, सुशासन र समृद्धिको बहसले नयाँ उचाइ लिँदै गएको छ। यस सन्दर्भमा नेकपा एमालेका उम्मेदवार डा. दीपकप्रकाश भट्टले सार्वजनिक गरेका २२ बुँदे प्रतिबद्धताले निर्वाचनलाई केवल राजनीतिक प्रतिस्पर्धा होइन, स्पष्ट एजेन्डा–केन्द्रित अभियानका रूपमा रूपान्तरण गर्ने संकेत दिएको छ।
२०७४ पछि थालनी गरिएका केही ठूला योजनाहरू अधुरै रहेको स्वीकार गर्दै ती योजनालाई पूर्णता दिने र नयाँ आयोजना अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नु जिम्मेवार राजनीतिक दृष्टिकोणको उदाहरण हो। भिमदत्त नगरपालिका–२ मा आयोजित आदर्श थारु टोल सभामा उनले निर्वाचन क्षेत्रमा दुईवटा सम्पर्क कार्यालय स्थापना गरी निरन्तर जनसम्पर्कमा रहने घोषणा गर्नुले प्रतिनिधित्वलाई चुनावी समयसम्म सीमित नराख्ने सन्देश दिएको छ।
सुदूरपश्चिमको समग्र विकासमा शिक्षाको भूमिका निर्णायक रहने भन्दै सुदूरपश्चिम विश्वविद्यालय मा हर्बल साइन्स, स्पोर्ट्स साइन्स एन्ड म्यानेजमेन्ट, आर्टिफिसियल इन्टेलिजेन्स, जलवायु परिवर्तन तथा विपद् जोखिम व्यवस्थापनजस्ता रोजगारमुखी विषय विस्तार गर्ने पहल सकारात्मक दिशातर्फको कदम हो। यसले स्थानीय युवालाई स्वदेशमै गुणस्तरीय र समयसापेक्ष शिक्षा प्राप्त गर्ने अवसर सिर्जना गर्न सक्छ।
त्यस्तै महाकाली बहुप्राविधिक शिक्षालय लाई स्तरोन्नति गरी बीएस्सी नर्सिङ कार्यक्रम सञ्चालन गर्ने योजना र प्रस्तावित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय लाई अनुसन्धानमुखी केन्द्रका रूपमा विकास गर्ने सोचले सुदूरपश्चिमलाई स्वास्थ्य शिक्षा हबका रूपमा स्थापित गर्न सक्ने आधार देखिन्छ। महाकाली प्रादेशिक अस्पताल लाई विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने तथा दोधाराचाँदनी नगर अस्पताललाई २५ शैयामा स्तरोन्नति गरी सर्पदंश उपचार केन्द्र स्थापना गर्ने योजना ग्रामीण स्वास्थ्य सुरक्षामा महत्वपूर्ण हुन सक्छ।
किसान परिचयपत्रमार्फत कृषि, पशुपालन र वनमा आधारित उत्पादन संरक्षण तथा अनियन्त्रित आयात नियमनको पहल स्थानीय अर्थतन्त्र सुदृढ पार्ने कदम हो। युवा स्वरोजगार तथा उद्यमशीलता कोष स्थापना गरी कृषि, पर्यटन र आईटी क्षेत्रमा स्टार्टअप प्रवद्र्धन गर्ने र ‘विदेश होइन, स्वदेशमै अवसर’ अभियान सञ्चालन गर्ने घोषणाले युवामाझ सकारात्मक ऊर्जा भर्ने सम्भावना छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज केन्द्रित पर्यापर्यटन विकास, महाकाली नदीमा र्याफ्टिङ व्यवसायीकरण, होमस्टे विस्तार तथा राना–थारु संस्कृतिको संरक्षणले आर्थिक विकाससँगै सांस्कृतिक पहिचान सुदृढ गर्ने मार्ग खोल्न सक्छ। पर्यटन पूर्वाधार सुदृढीकरणले कञ्चनपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नक्सामा अझ प्रभावकारी रूपमा उभ्याउन सहयोग पुर्याउन सक्छ।
मझगाउँ विमानस्थल, महाकाली करिडोर, सुख्खा बन्दरगाह, महाकाली तेस्रो चरण सिँचाइ आयोजना, चारलेन सडक तथा गड्डाचौकी–दैजी सडक खण्डलाई तीव्रता दिने प्रतिबद्धता क्षेत्रीय व्यापार, कृषि र आवागमनका लागि रणनीतिक महत्वका योजना हुन्। दोधाराचाँदनी र भीमदत्त क्षेत्रमा चक्रपथ निर्माण सम्पन्न गर्ने लक्ष्यले शहरी व्यवस्थापनमा नयाँ आयाम थप्न सक्छ।
ऐलानी जग्गामा बसोबास गरिरहेका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पुर्जा उपलब्ध गराउने प्रक्रिया तीव्र पार्ने तथा आवासविहीन र सीमान्तकृत समुदायका लागि सुरक्षित आवास कार्यक्रम निरन्तरता दिने प्रतिबद्धता सामाजिक न्यायतर्फको स्पष्ट सन्देश हो।
सुशासन, कानुन संशोधन, दण्डहीनताको अन्त्य तथा जनमुखी कानुन निर्माणमा जोड दिने घोषणा लोकतान्त्रिक अभ्यास सुदृढ पार्ने आधार हो। चुनावी वाचा डिजिटल माध्यमबाट मतदातासम्म पुर्याउने अभ्यासले पारदर्शिता र उत्तरदायित्वलाई नयाँ स्वरूप दिएको छ। सूचना प्रविधिको प्रयोगमार्फत मतदातासँग प्रत्यक्ष संवादको अभ्यास आधुनिक राजनीतिक संस्कृतिको संकेत हो।
समग्रमा, कञ्चनपुर–३ मा प्रस्तुत २२ बुँदे प्रतिबद्धता केवल घोषणापत्र होइन, क्षेत्रीय रूपान्तरणको खाका बन्न सक्ने सम्भावना बोकेको दस्तावेजका रूपमा देखिएको छ। चुनावी माहोललाई व्यक्तिकेन्द्रित आरोप–प्रत्यारोपभन्दा माथि उठाएर विकास, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारका ठोस एजेन्डामा केन्द्रित गर्न सके कञ्चनपुर–३ को राजनीति सकारात्मक प्रतिस्पर्धाको नमूना बन्न सक्छ।
अब निर्णय मतदाताको हातमा छ ,स्थानीय आवश्यकतालाई केन्द्रमा राखेर अघि बढ्ने स्पष्ट दृष्टि रोज्ने कि यथास्थितिमा सीमित रहने? चुनावले यही प्रश्नको उत्तर खोजिरहेको छ।


















Discussion about this post