चुनावी गतिविधि संयमित बनाउन जेनजी २.० को आह्वान

सार्थक ब्यूरो।देश निर्वाचनको महत्वपूर्ण चरणमा प्रवेश गरिरहेको सन्दर्भमा जेनजी २.० ले राजनीतिक दल, उम्मेदवार र पार्टी कार्यकर्तालाई मर्यादित र जिम्मेवार ढंगले चुनावी अभियान सञ्चालन गर्न आग्रह गरेको छ।
संस्थाका प्रवक्ता अविन लिम्बूले जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचन लोकतन्त्रको आधार स्तम्भ भएकाले स्वस्थ प्रतिस्पर्धा, नीति तथा कार्यक्रममाथि केन्द्रित बहस र स्पष्ट दृष्टिकोणको प्रस्तुति आवश्यक रहेको उल्लेख गरिएको छ। व्यक्तिगत आरोप–प्रत्यारोप, उत्तेजनात्मक अभिव्यक्ति, घृणात्मक गतिविधि तथा हिंसात्मक प्रवृत्तिले लोकतान्त्रिक प्रक्रियामा नकारात्मक असर पार्ने र जनविश्वास कमजोर बनाउने चेतावनी विज्ञप्तिमा दिइएको छ।
जेनजी २.० ले मतदाताको स्वतन्त्र निर्णयलाई सर्वोपरि मान्दै डर, दबाब, प्रलोभन वा दुष्प्रचारमार्फत मत प्रभावित गर्ने प्रयास नगर्न सबै पक्षलाई अनुरोध गरेको छ। आफ्ना एजेन्डा, योजना र कार्यक्रम स्पष्ट रूपमा जनतासमक्ष प्रस्तुत गरेर सभ्य प्रतिस्पर्धा गर्न संगठनले आह्वान गरेको छ।
त्यसैगरी सम्बन्धित राज्य निकायलाई निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गराउन, अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न तथा सबै राजनीतिक शक्तिलाई समान अवसर सुनिश्चित गर्न ध्यान दिन आग्रह गरिएको छ।
लोकतान्त्रिक मूल्य, राजनीतिक परिपक्वता र जिम्मेवारीबोध प्रदर्शन गर्दै शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनु सबै पक्षको दायित्व भएको जेनजी २.० ले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित