सार्थक डेस्क।कैलाली क्षेत्र नम्बर ४ मा चुनावी माहोल दिनप्रतिदिन उत्साहपूर्ण बन्दै गएको छ। अत्तरिया जेसिसद्वारा आयोजित प्रतिनिधिसभा सदस्य उम्मेदवारहरूसँगको प्रत्यक्ष संवाद कार्यक्रममा लेखराज भट्ट ले राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डता र स्वाभिमानको संरक्षणलाई आफ्नो पहिलो प्राथमिकताका रूपमा प्रस्तुत गर्दै समग्र विकासको स्पष्ट खाका अघि सारेका छन्।
कार्यक्रममा उनले राष्ट्रहितलाई केन्द्रमा राखेर सबै राजनीतिक दल, सरोकारवाला निकाय र आम नागरिकसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए। उनका अनुसार समृद्ध राष्ट्र निर्माणका लागि राजनीतिक स्थिरता, पारदर्शी नेतृत्व, सहकार्यको संस्कृति र दीर्घकालीन दृष्टिकोण अपरिहार्य छन्।
भट्टले सुदूरपश्चिमको आर्थिक रूपान्तरणका लागि ठूला पूर्वाधार आयोजनाहरूलाई समयमै सम्पन्न गर्नु अत्यावश्यक रहेको उल्लेख गरे। विशेषगरी सेती लोकमार्ग, महाकाली करिडोर र खुटिया–दिपायल फास्ट ट्र्याक जस्ता रणनीतिक सडक परियोजनाहरू क्षेत्रीय विकासका मेरुदण्ड भएको उनको भनाइ थियो।
यी आयोजनाहरू सम्पन्न भएमा कृषि, पर्यटन, व्यापार र रोजगारीका अवसरहरू उल्लेखनीय रूपमा विस्तार हुने विश्वास उनले व्यक्त गरे। साथै सुख्खा बन्दरगाह निर्माणलाई पूर्णता दिँदै क्षेत्रीय अर्थतन्त्रलाई थप गतिशील बनाइने योजना पनि उनले अघि सारे।
भौतिक पूर्वाधारसँगै सामाजिक क्षेत्रलाई सुदृढ बनाउनेतर्फ पनि उनको जोड देखिएको छ। गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, सुरक्षित खानेपानी र संस्कारयुक्त समाज निर्माणलाई प्राथमिकतामा राख्दै दीर्घकालीन मानव विकासमा लगानी बढाइने उनले बताए।
राजधानी निर्माण प्रक्रियालाई गति दिने, भूमिहीन नागरिकको भूमि व्यवस्थापन गर्ने, सडक स्तरोन्नति गर्ने तथा कृषिमा आधारित उद्योग स्थापना गरी उत्पादनलाई बजारसम्म सहज पहुँच दिलाउने प्रतिबद्धता पनि उनले दोहोर्याए।
भट्टको प्रस्तुतिले कैलाली–४ लाई समृद्ध, व्यवस्थित र अवसरयुक्त निर्वाचन क्षेत्रका रूपमा स्थापित गर्ने स्पष्ट दृष्टि देखाएको सहभागीहरूको भनाइ थियो। विकास निर्माणका कामलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जनताको अपेक्षालाई परिणाममा रूपान्तरण गर्ने उनको अठोटले चुनावी वातावरणलाई थप सकारात्मक बनाएको छ।
कार्यक्रममा अन्य उम्मेदवारहरूले पनि आफ्ना योजना र प्रतिबद्धता सार्वजनिक गरेका थिए भने सहभागी नागरिकहरूले प्रत्यक्ष प्रश्नोत्तरमार्फत आफ्नो जिज्ञासा राखेका थिए। यस प्रकारका खुला संवाद कार्यक्रमले लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउँदै मतदातालाई सचेत र जिम्मेवार बनाउने विश्वास लिइएको छ।


















Discussion about this post