अनुभव र नेतृत्वको शक्ति : सुदूरपश्चिममा पूर्वमन्त्रीहरूको सक्रिय उपस्थिति

सार्थक व्युरो ।सुदूरपश्चिम प्रदेशको प्रतिनिधिसभा निर्वाचन यसपटक विशेष अर्थ राख्ने देखिएको छ। यहाँबाट एक जना पूर्वउपप्रधानमन्त्रीसहित १४ जना पूर्वमन्त्री तथा उच्च राजनीतिक जिम्मेवारी सम्हालिसक्नुभएका नेताहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। अनुभवी नेतृत्वको सक्रिय सहभागिताले प्रदेशभर उत्साहपूर्ण र अर्थपूर्ण चुनावी माहोल सिर्जना गरेको छ।
पूर्वउपप्रधानमन्त्री तथा रक्षा र गृह मन्त्रालय सम्हालिसक्नुभएका भीमबहादुर रावल अछाम क्षेत्र नम्बर–१ बाट उम्मेदवार हुनुहुन्छ। लामो राजनीतिक अनुभव बोकेका उहाँको उम्मेदवारीले त्यस क्षेत्रको प्रतिस्पर्धालाई उच्चस्तरमा पुर्‍याएको छ। सोही क्षेत्रमा कांग्रेसका भरत स्वाँर र एमालेका दीपक साउद पनि मैदानमा हुनुहुन्छ, जसले मतदातालाई बलिया विकल्प प्रदान गरेको छ।
कैलाली क्षेत्र नम्बर–४ मा पूर्वमन्त्री लेखराज भट्ट उम्मेदवार बन्नुभएको छ। यसअघि विभिन्न दलबाट चुनाव जितिसक्नुभएका उहाँ विकास र अनुभवको एजेन्डासहित मतदातामाझ जानुभएको छ। उहाँसँग कांग्रेसका गोरख विष्ट आनन्द र नेकपाका हरि चौधरी उत्सव प्रतिस्पर्धामा छन्।
कञ्चनपुर क्षेत्र नम्बर–२ मा पटक–पटक सरकारमा पुग्नुभएका कांग्रेस नेता एनपी साउद पुनः उम्मेदवार बन्नुभएको छ। उहाँको अनुभवसँग एमालेका वचनबहादुर सिंह, नेकपाका माधव पन्त र रास्वपाका दीपक बोहोरा प्रतिस्पर्धामा उभिएका छन्।
बैतडीमा एमालेका पूर्वमन्त्री दामोदर भण्डारी फेरि जनमतको परीक्षणमा हुनुहुन्छ। उहाँलाई कांग्रेसका चतुरबहादुर चन्दले चुनौती दिइरहनुभएको छ। दार्चुलाबाट पूर्वमन्त्री गणेश ठगुन्ना पनि चुनावी मैदानमा हुनुहुन्छ, जहाँ कांग्रेसका धर्मानन्द जोशीसँग उहाँको प्रतिस्पर्धा रहनेछ।
कैलाली क्षेत्र नम्बर–३ मा एमालेका पूर्वमन्त्री गौरीशङ्कर चौधरी उम्मेदवार हुनुहुन्छ। उहाँसँग नेकपाका वीरमान चौधरी र कांग्रेसका भीम बडुवाल प्रतिस्पर्धामा छन्।
कञ्चनपुर–१ मा पूर्वमन्त्री बीना मगर मैदानमा हुनुहुन्छ। उहाँसँग प्रदेश सरकारका पूर्वमन्त्री तारा लामा तामाङ तथा कांग्रेसका गोपीप्रसाद उपाध्याय प्रतिस्पर्धा गरिरहनुभएको छ।
डोटीबाट लगातार तीनपटक विजयी हुनुभएका पूर्वमन्त्री प्रेम आले यसपटक कैलाली–५ बाट उम्मेदवार बन्नुभएको छ। उहाँसँग विभिन्न दलका उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने देखिन्छ।
सुदूरपश्चिम प्रदेशका पहिलो मुख्यमन्त्री त्रिलोचन भट्ट डोटीबाट उम्मेदवार बन्नुभएको छ। प्रदेशस्तरमा काम गरिसक्नुभएका उहाँको संघीय राजनीतिमा प्रवेशले स्थानीय तहमा नयाँ ऊर्जा थपेको छ।
त्यस्तै, आन्तरिक मामिला र आर्थिक मामिला मन्त्रालय सम्हालिसक्नुभएका प्रकाशबहादुर शाह बाजुराबाट उम्मेदवार हुनुहुन्छ। उहाँसँग एमालेका लालबहादुर थापा र कांग्रेसका जनकराज गिरी प्रतिस्पर्धामा छन्।
कैलाली–१ मा पूर्वराज्यमन्त्री जनकराज चौधरी उम्मेदवार बन्नुभएको छ भने कञ्चनपुर–३ मा प्रदेशका पूर्वराज्यमन्त्री मानबहादुर सुनार चुनावी मैदानमा हुनुहुन्छ।
यसपटक सुदूरपश्चिममा देखिएको परिदृश्यले अनुभव र नयाँ नेतृत्वबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाएको छ। पूर्वउपप्रधानमन्त्रीदेखि प्रदेश सरकार सम्हालिसकेका नेतासम्म प्रत्यक्ष जनमत लिन मैदानमा उत्रनुले लोकतन्त्रप्रतिको प्रतिबद्धता झल्काउँछ।
मतदाताका लागि यो अवसर नेतृत्वको कार्यक्षमता, विगतको योगदान र भावी योजनाको मूल्याङ्कन गर्ने महत्वपूर्ण घडी बनेको छ। यही सक्रियता र बहुआयामिक प्रतिस्पर्धाले सुदूरपश्चिमको चुनावलाई उत्साहपूर्ण लोकतान्त्रिक पर्वका रूपमा स्थापित गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित