सार्थक व्युरो ।बैतडी जिल्लाको पुर्चौडी नगरपालिका–१० विजयपुरस्थित महरागाउँमा ज्वरोका बिरामी बढेपछि स्वास्थ्य सतर्कता बढाइएको छ। एकै घरका १३ र १० वर्षका दुई बालकको ज्वरोसँग सम्बन्धित लक्षणपछि निधन भएपछि चिकित्सकहरूको टोली तत्काल गाउँमा खटिएको छ।
स्वास्थ्यकर्मीहरूले प्रभावित परिवारका सदस्य तथा गाउँका अन्य बासिन्दाको स्वाब सङ्कलन गरी परीक्षणका लागि धनगढी पठाएका छन्। प्रारम्भिक विवरणअनुसार गाउँका करिब ४० जनामा उच्च ज्वरो, रिँगटा लाग्ने, ओठ सुक्ने र बान्ता हुने जस्ता लक्षण देखिएका छन्।
१० वर्षीय विकास महरा र १३ वर्षीय विनोद महराको केही दिनको अन्तरमा निधन भएको स्थानीय स्रोतले जनाएको छ। घटनापछि स्वास्थ्यकर्मीको टोलीले घरदैलोमै पुगेर बिरामीको अवस्था बुझ्नुका साथै थप संक्रमण फैलिन नदिन निगरानी बढाएको छ।
पुर्चौडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदबहादुर कुँवरका अनुसार ४० भन्दा बढी व्यक्तिको नमुना सङ्कलन भइसकेको छ र रिपोर्ट आउनासाथ आवश्यक थप कदम चालिनेछ। यस्तै, स्वास्थ्य कार्यालय बैतडी का प्रमुख तीर्थराज भट्टले घटना थाहा पाउनेबित्तिकै स्वास्थ्य टोली परिचालन गरिएको जानकारी दिनुभएको छ।
स्वास्थ्यकर्मीहरूले स्थानीयलाई सरसफाइमा ध्यान दिन, सुरक्षित पानी पिउन र ज्वरो वा अन्य लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन्। परीक्षण प्रतिवेदनपछि रोगको कारण स्पष्ट हुने अपेक्षा गरिएको छ।


















Discussion about this post