सार्थक व्युरो ।प्रतिनिधिसभा सदस्य निर्वाचनमा सक्रिय र उत्साहजनक सहभागिताका लागि कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले आममतदातालाई आह्वान गर्नुभएको छ ।
निर्वाचन आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन सबै मतदाताले जिम्मेवार ढंगले सहभागिता जनाउनुपर्ने बताउनुभयो । उहाँले निर्वाचनलाई लोकतान्त्रिक वैधता नवीकरण गर्ने संवैधानिक प्रक्रिया भएको उल्लेख गर्दै आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्नुभयो ।
आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीअन्तर्गत ६१ वटा निर्वाचन चिह्नमा ६५ राजनीतिक दलबीच प्रतिस्पर्धा हुँदैछ । यसतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी कूल तीन हजार ४०६ उम्मेदवार मैदानमा छन् । समानुपातिक प्रणालीतर्फ भने एक हजार ३६३ पुरुष र एक हजार १,७७२ महिला गरी तीन हजार १३५ जना उम्मेदवार प्रतिस्पर्धामा सहभागी छन् ।
प्रत्यक्ष प्रणालीअन्तर्गत १६५ निर्वाचन क्षेत्र र समानुपातिक प्रणालीअन्तर्गत ११० सिटका लागि मतदान हुनेछ । यस निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी जम्मा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम रहेका छन् । साथै एक लाख ८६ हजार १४२ अस्थायी मतदाता पनि सूचीकृत छन् ।
देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र स्थापना गरिएको छ भने १४३ अस्थायी मतदानस्थल निर्धारण गरिएको आयोगले जनाएको छ । निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी परिचालन गरिएको जानकारी दिइएको छ ।
निर्वाचन सम्पन्न गराउन दुई लाख १५ हजार कर्मचारी खटिने भएका छन् । प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीका लागि कूल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ भइसकेको आयोगले जनाएको छ । यसपटक चार अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्थाले निर्वाचन पर्यवेक्षण गर्नेछन् ।


















Discussion about this post