सार्थक व्युरो ।प्रतिनिधिसभा सदस्यका लागि बिहीबार हुन लागेको निर्वाचनमा मतदाताले अनिवार्य रूपमा तोकिएका कागजातमध्ये कुनै एकको सक्कल प्रति साथमा लिएर मात्र मतदान केन्द्र प्रवेश गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार मतदाता परिचयपत्र भएमा त्यसकै आधारमा मतदान गर्न सकिनेछ । यदि मतदाता परिचयपत्र उपलब्ध नभए अन्य वैकल्पिक कागजात प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार मतदाता परिचयपत्र नभए नेपाली नागरिकताको सक्कल प्रति, नागरिकता नभए सवारी चालक अनुमतिपत्र, त्यो पनि नभए राहदानी, राहदानी नभए राष्ट्रिय परिचयपत्र र तीमध्ये कुनै पनि नभए जग्गाधनी प्रमाण पुर्जाको सक्कल प्रति लिएर मतदान केन्द्र जान सकिनेछ । तोकिएका यी छ प्रकारका कागजातमध्ये कुनै एक अनिवार्य रूपमा साथमा भए मतदान प्रक्रिया पूरा गर्न पाइने स्पष्ट गरिएको छ ।
भोलि सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन् । साथै १४३ अस्थायी मतदानस्थलसमेत व्यवस्था गरिएको छ । यी केन्द्रमार्फत एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने आयोगले जनाएको छ ।


















Discussion about this post