निर्वाचन नजिकिँदै गर्दा सार्वजनिक बिदाको अवधिमा पनि आवश्यक वित्तीय सेवा अवरुद्ध नहुने

सार्थक व्युरो ।निर्वाचन नजिकिँदै गर्दा सार्वजनिक बिदाको अवधिमा पनि आवश्यक वित्तीय सेवा अवरुद्ध नहुने व्यवस्था मिलाइएको निर्वाचन आयोग ले जनाएको छ। प्रतिनिधिसभा सदस्यको आमनिर्वाचनलाई सहज र व्यवस्थित बनाउन बैंक तथा वित्तीय संस्थाका सम्बन्धित शाखालाई आवश्यकतानुसार सञ्चालन गर्ने प्रबन्ध गरिएको आयोगले स्पष्ट पारेको छ।
आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सरकारले तीन दिन सार्वजनिक बिदा घोषणा गरेको छ। यसबीच फागुपूर्णिमा लगायतका कारण वित्तीय कारोबार प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै आयोगको निर्णय तथा आग्रहअनुसार महालेखा नियन्त्रक कार्यालय मार्फत राजस्व संकलन र दाखिलाको व्यवस्था मिलाइएको जनाइएको छ।
त्यस्तै, कोष तथा लेखा नियन्त्रक कार्यालय बाट निर्वाचनसम्बन्धी खर्च भुक्तानी निकासा, राजस्व दाखिला र अन्य आवश्यक सेवा सञ्चालन भइरहेका छन्। सेवा निरन्तरता सुनिश्चित गर्न प्राविधिक जनशक्ति परिचालन गरी प्रणाली सुचारु राखिएको आयोगले जनाएको छ।
यसैगरी, नेपाल राष्ट्र बैंक ले सरकारी कारोबार गर्ने एजेन्सी बैंकहरू तथा राजनीतिक दल र उम्मेदवारले सञ्चालन गर्ने निर्वाचन प्रचारप्रसार खातामार्फत आवश्यक रकम दाखिला र भुक्तानी सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको छ। वित्तीय प्रणाली अवरुद्ध नहुने गरी भुक्तानी सम्बन्धी संयन्त्र सञ्चालनमा राखिएको आयोगले जानकारी दिएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार देशभर एकैदिन मतदान हुने भएकाले निर्वाचनको दिन बैंकिङ सेवा बन्द रहनेछ। यद्यपि, फागुन २२ गतेदेखि भने बैंक तथा वित्तीय संस्थाहरू नियमित रूपमा सञ्चालनमा आउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित