नेपालमै नयाँ अनुभव: बारासिङ्गे बियर गार्डेनसहितको टाइगर फरेस्ट होटल प्रालि

-क्षितिज विक्रम खनाल
Tiger Forest Hotel Pvt. Ltd. ले लुम्बिनी प्रदेशमा नवीन अवधारणासहित आतिथ्य क्षेत्रमा प्रवेश गरेको छ। रुपन्देहीको तिलोत्तमा–१३, कोटिहवामा, Tiger Palace Resort नजिक शान्त र हरियाली वातावरणमा विकास गरिएको यो परियोजनाले प्रदेशको पर्यटन नक्सामा नयाँ आयाम थप्ने लक्ष्य लिएको छ। खुला क्षेत्र, प्राकृतिक सौन्दर्य र मौलिक काठ संरचनाको संयोजनले यस होटललाई परम्परागत संरचनाभन्दा फरक पहिचान दिएको छ।
होटल परिसरभित्र सञ्चालनमा आएको ‘बारासिङ्गे बियर गार्डेन’ आगन्तुकका लागि विशेष आकर्षण बनेको छ। यहाँ Barahsinghe Beer का विभिन्न भेराइटी ड्राफ्ट प्रणालीमार्फत धारा जडान गरी उपलब्ध गराइएको छ। खुला आकाशमुनि हरियाली वातावरणमा बसेर कारखानाबाटै जस्तो ताजगी र स्वादमा बियरको अनुभव लिन सकिने व्यवस्था यस क्षेत्रमै नौलो प्रयोगका रूपमा हेरिएको छ।
काठबाट निर्मित रेस्टुरेन्टमा अनुभवी शेफद्वारा तयार गरिएका नेपाली र भारतीय परिकार सुपथ मूल्यमा पाइन्छन्। लाइभ म्युजिकसहित परिवार तथा साथीहरूसँग समय बिताउन मिल्ने सहज र आत्मीय वातावरणले आगन्तुकलाई फरक अनुभूति दिन्छ।
हाल होटलमा काठकै संरचनामा बनेका २० वटा लक्जरी भिल्ला तथा कोठा प्रारम्भिक रूपमा सञ्चालनमा छन्। प्राकृतिक सामग्रीको प्रयोगले वातावरणमैत्री सन्देश मात्र नदिई बसाइलाई समेत विशिष्ट बनाएको छ। यसैगरी डान्स क्लब, स्पा सेवा र १५०० जनासम्म अट्ने बैंकेट हल सञ्चालनमा आइसकेका छन्, जहाँ निजी, संस्थागत तथा सामाजिक कार्यक्रम आयोजना गर्न सकिने सुविधा छ।
करीब पाँच बिघा क्षेत्रफलमा विस्तार भइरहेको परियोजनामा हालसम्म करिब १५० करोड रुपैयाँ लगानी भइसकेको छ। सञ्चालक मिनराज भुसालका अनुसार थप १५० करोड रुपैयाँ लगानी गरी कुल ३०० करोडको पाँचतारे स्तरको रिसोर्ट विकास गर्ने योजना अघि सारिएको छ। आगामी चरणमा स्वीमिङ पुल, क्यासिनो, गार्डेन, बालबालिका खेल क्षेत्र तथा थप ८० वटा काठका भिल्ला निर्माण गरिने तयारी छ।
स्वदेशी सल्लो र साल काठ प्रयोग गरी इन्जिनियरिङ मापदण्डअनुसार संरचना निर्माण गर्दा नक्सा स्वीकृतिसम्बन्धी स्पष्ट कार्यविधि अभावले केही प्रशासनिक चुनौती देखिएको सञ्चालकको भनाइ छ। बाँस संरचनाजस्तै स्वदेशी काठ प्रयोगका लागि पनि स्पष्ट कानुनी आधार र कार्यविधि आवश्यक रहेको उनले उल्लेख गरेका छन्। यसले स्वदेशी उत्पादनको प्रवर्द्धन, स्थानीय उद्योग सुदृढीकरण र रोजगारी विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
हाल करिब ७० जना स्थानीयलाई प्रत्यक्ष रोजगारी दिइरहेको होटल पूर्ण सञ्चालनमा आएपछि अझ बढी रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ। दीगो रोजगारीका लागि व्यवसायमैत्री वातावरण, लगानी सुरक्षाको प्रत्याभूति र सरकारको स्पष्ट प्रतिबद्धता आवश्यक रहेको सञ्चालकको धारणा छ।
लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई फरक र स्मरणीय अनुभव दिने लक्ष्यसहित अघि बढाइएको यो परियोजना प्रदेशकै नमुना पर्यटन गन्तव्य बन्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित