नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीद्वारा सामाजिक, सांस्कृतिक र शहरी चुनौतीबारे ९ वटा अनुसन्धान प्रस्तुत

सार्थक व्युरो । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा स्नातक तहका विद्यार्थीहरूको सक्रियतामा ‘हामीले डिजाइन गर्ने र बसोबास गर्ने स्थानहरूको पुनर्कल्पना’ विषयक एकदिने सेमिनार सम्पन्न भएको छ । आर्किटेक्चर विभागका २०२१ ब्याचका विद्यार्थीहरूले आयोजना गरेको उक्त कार्यक्रममा समसामयिक सामाजिक, सांस्कृतिक, वातावरणीय तथा मनोवैज्ञानिक विषयहरूमा आधारित नौ वटा अनुसन्धान प्रस्तुत गरिएका थिए ।
सेमिनारमा प्रमुख अतिथिका रूपमा सहभागी डाक्टर झरना जोशीले विद्यार्थीहरूको अनुसन्धानमूलक पहलको प्रशंसा गर्दै सामाजिक उत्तरदायी डिजाइन र अन्तरविषयगत सोचको आवश्यकता औंल्याउनुभयो । कार्यक्रममा कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारी, सहायक–प्राचार्य मोहन ध्वज के।सी। तथा विभागीय प्रमुख राम प्रसाद सुवाल लगायतको उपस्थिति रहेको थियो ।
एक दिने सेमिनार तीन सत्रमा विभाजन गरिएको थियो, जसमा कुल नौ वटा अनुसन्धान प्रस्तुत गरिएका थिए । प्रस्तुत विषयहरूमा महिलाको अदृश्य श्रम, युवामा डिजिटल लत, परम्परागत ‘नानी’ खुला स्थानमा शहरीकरणको प्रभाव, इँटा उद्योगमा बालश्रम, वैदेशिक पलायन, बनेपाको टुन प्रणाली, देउडा संस्कृति, मानसिक स्वास्थ्य समस्या तथा हनुमन्ते नदीको प्रदूषण जस्ता महत्वपूर्ण मुद्दाहरू समेटिएका थिए ।
अनुसन्धानहरूले सामाजिक तथा शहरी समस्याहरूको गहिरो विश्लेषण गर्दै व्यावहारिक समाधानहरू पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा प्यानल छलफल, विद्यार्थी प्रस्तुति तथा अन्तरक्रियाले शैक्षिक वातावरणलाई थप प्रभावकारी बनाएको थियो । सेमिनारले अनुसन्धानमा आधारित सिकाइ, सामाजिक उत्तरदायित्व र विद्यार्थी नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको भनाइ छ । यस्तो कार्यक्रमले विद्यार्थीहरूलाई व्यावसायिक तथा सामाजिक रूपमा सक्षम बनाउने विश्वास गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित