सार्थक व्युरो ।कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालका नव नियुक्त व्यवस्थापन समिति अध्यक्ष महेश प्रसाद पन्तले आइतबार पदभार ग्रहण गर्दै अस्पताल सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण निर्णय सार्वजनिक गरेका छन्।
अध्यक्ष पन्तले पदभार सम्हालेलगत्तै अस्पताल परिसरका तीन स्थानमा गुनासो पेटिका राख्ने, सरसफाइलाई प्राथमिकतामा राख्ने तथा अस्पतालभित्र चौबीसै घण्टा एटिएम सेवा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिएका हुन्।
सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले पन्तसहित चार सदस्यलाई अस्पताल व्यवस्थापन समितिमा नियुक्त गरेको हो। यसअघि समितिका अध्यक्ष कृष्णानन्द भट्टको कार्यकाल गत चैतमै सकिएको थियो। त्यसपछि विभिन्न कारणले नयाँ पदाधिकारी नियुक्तिमा ढिलाइ भएको थियो।
पदभार ग्रहणपछि अध्यक्ष पन्तले अस्पतालमा आउने सेवाग्राहीले सेवा, प्रशासन, चिकित्सक वा स्वास्थ्यकर्मीसम्बन्धी कुनै पनि गुनासो सहज रूपमा व्यक्त गर्न सकून् भन्ने उद्देश्यले गुनासो पेटिका राख्ने निर्णय गरिएको बताए।
उनका अनुसार अस्पताललाई सफा, स्वच्छ र व्यवस्थित बनाउने कामलाई पहिलो प्राथमिकतामा राखिएको छ। स्वास्थ्य सेवा प्रदान हुने स्थान भएकाले अस्पताल परिसर, शौचालयलगायत सबै क्षेत्र दुर्गन्धरहित र सफा राख्नुपर्नेमा उनले जोड दिए।
अस्पतालभित्रै २४ सै घण्टा एटिएम सेवा उपलब्ध गराउने निर्णयले सेवाग्राही र उनीहरूका आफन्तलाई आवश्यक आर्थिक कारोबारमा सहजता पुग्ने अपेक्षा गरिएको छ।
पदभार ग्रहण कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलको पनि सहभागिता रहेको थियो। कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश जोशीलगायतले नव नियुक्त अध्यक्ष तथा सदस्यहरूलाई स्वागत गरेका थिए। सो अवसरमा डा. जोशीले अस्पतालको सेवा प्रवाह, विद्यमान समस्या र चुनौतीबारे जानकारी गराएका थिए।
अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा पन्त नियुक्त हुँदा सदस्यहरूमा कृष्णबहादुर क्षेत्री कुँवर, प्रशान्त भट्ट, इन्द्र साउँद र पार्वती जोशी रहेका छन्।
भीमदत्त नगरपालिका–१८ निवासी पन्त २०७९ सालको स्थानीय तह निर्वाचनमा भीमदत्त नगरपालिकाको मेयर पदका प्रत्याशीसमेत बनेका थिए।
महाकाली अस्पतालको स्थापना २०२० सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा भएको थियो। २०३१ सालमा २५ शैयाको स्वीकृति पाएपछि यो जिल्ला अस्पतालका रूपमा विकास भएको थियो। पछि २०४३ सालमा महाकाली अञ्चल अस्पताल बनेको यो संस्था २०७८ सालमा सुदूरपश्चिम प्रदेश सरकारले प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गरेको हो।


















Discussion about this post