लालझाँडीमा २२३ जनामा सिकलसेल–थालसेमिया ‘ट्रेट’ भेटियो

सार्थक व्युरो । लालझाँडी गाउँपालिका मा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट २२३ जनामा सिकलसेल एनिमिया र थालसेमिया सम्बन्धी ‘ट्रेट’ (वाहक अवस्था) पहिचान भएको छ।
जिल्ला स्वास्थ्य कार्यालयले रोग पहिचान तथा प्रारम्भिक निदानका लागि एक सातासम्म सञ्चालन गरेको स्क्रिनिङ कार्यक्रममा कुल २ हजार ६४७ जनाको रगत परीक्षण गरिएको थियो। स्वास्थ्य कार्यालयका फोकल पर्सन सिद्धराज भट्टका अनुसार परीक्षण गरिएकामध्ये १ हजार ७५७ महिला र ८९० पुरुष रहेका थिए। तीमध्ये १४८ महिला र ७५ पुरुषमा ‘ट्रेट’ देखिएको जानकारी दिइएको छ।
पोजेटिभ देखिएका नमूनाहरूको थप पुष्टि परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ। यसको अन्तिम नतिजा आउन केही समय लाग्ने जनाइएको छ।
स्वास्थ्य कार्यालयका अनुसार सिकलसेल एनिमिया र थालसेमिया आनुवंशिक प्रकृतिका रगतसम्बन्धी रोग हुन्। विशेषगरी थारू–चौधरी समुदायमा यी रोगहरूको जोखिम बढी देखिएकाले त्यस्ता बस्ती बढी रहेका स्थानीय तहमा लक्षित गरी निःशुल्क शिविर सञ्चालन गरिएको हो।
चिकित्सकका अनुसार ‘ट्रेट’ भएका व्यक्तिमा सामान्य अवस्थामा गम्भीर लक्षण नदेखिए पनि यदि दुवै अभिभावकमा यस्तो अवस्था भएमा जन्मिने सन्तानमध्ये करिब २५ प्रतिशतमा रोग पूर्ण रूपमा देखिन सक्छ।
हेमोग्लोबिनसँग सम्बन्धित समस्याका कारण उत्पन्न हुने यी रोगहरू विश्वव्यापी रूपमा पनि महत्वपूर्ण जनस्वास्थ्य चुनौतीका रूपमा रहेका छन्। नेपालमा विशेषगरी पश्चिम तराई क्षेत्रमा यसको प्रभाव बढी देखिएको विभिन्न अध्ययनहरूले देखाएका छन्।
सिकलसेल रोग भएका व्यक्तिमा थकान, सास फेर्न गाह्रो हुने, शरीरका विभिन्न भागमा दुखाइ, ज्वरो, बान्ता, खोकी तथा आँखासम्बन्धी समस्या जस्ता लक्षण देखिन सक्ने स्वास्थ्यकर्मीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित