सार्थक व्युरो ।कैलालीको टिकापुर नगरपालिकाले टोल विकास संस्थालाई पूर्वाधार निर्माण कार्यमा प्रत्यक्ष जिम्मेवारी दिन थालेपछि स्थानीय सहभागिता र अपनत्व बढ्न थालेको छ। चालु आर्थिक वर्षमा नगरभित्रका १९ वटा टोल विकास संस्थाले निर्माण उपभोक्ता समितिको भूमिका निर्वाह गर्दै विकास निर्माणका काम अघि बढाइरहेका छन्।
स्थानीय बस्तीको विकासमा त्यहीँका नागरिकलाई जिम्मेवार बनाउने उद्देश्यले नगरपालिकाले हरेक टोलमा संस्था गठन गरी दर्ता गर्ने र विकास आयोजनामा उनीहरूको सहभागिता विस्तार गर्ने नीति अवलम्बन गरेको जनाएको छ।
नगरपालिका–१ मा सडक ग्राभेल, माटो पटानीलगायतका निर्माण कार्यको जिम्मा टोल विकास संस्थालाई दिइएको छ। यसका लागि औपचारिक सम्झौता गरी काम अगाडि बढाइएको नगरपालिकाले जनाएको छ। वडा नं. १ का सब–इन्जिनियर गम्भीरसिंह साउँदका अनुसार विगतमा छुट्टै उपभोक्ता समिति गठन गर्दा कामको दिगोपनामा समस्या देखिएपछि टोल विकास संस्थालाई जिम्मेवारी दिन थालिएको हो।
उहाँका अनुसार जुन टोलमा योजना सञ्चालन हुन्छ, सोही क्षेत्रको टोल विकास संस्थालाई जिम्मा दिँदा काममा स्थानीय अपनत्व, निगरानी र गुणस्तरमा सुधार आएको छ। स्थानीयले आफ्नै बस्तीको काम आफैंले गर्ने र अनुगमनसमेत गर्ने भएकाले कार्यान्वयन सहज भएको बताइएको छ।
नगरपालिकामा स्थानीय सुशासन सुधारका लागि टोल विकास संस्था सशक्तीकरण कार्यक्रम सञ्चालनमा रहेको छ। यस कार्यक्रममार्फत नागरिक अधिकार सुनिश्चितता, समावेशी सहभागिता, पारदर्शी तथा उत्तरदायी शासन प्रणाली र संस्थागत सुदृढीकरणमा जोड दिइएको छ। पालिका र सहकर्मी समाजको सहकार्यमा संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने काम भइरहेको छ।
हाल टिकापुरमा २ सय ६२ टोल विकास संस्था गठन भएका छन्। तीमध्ये २ सय ९ संस्था नगरपालिकामा दर्ता भइसकेका छन् भने बाँकी दर्ता प्रक्रियामा रहेका छन्। संघसंस्था समन्वय शाखाका अनुसार वडा नं. १ मा मात्र १ सय ८ संस्था सक्रिय छन्। साथै, ९ वटा वडा सञ्जाल पनि गठन भएका छन्।
प्रत्येक महिनाको नियमित बैठकमार्फत टोलका समस्या, आवश्यकता र प्राथमिकता पहिचान गर्ने अभ्यास बढेको छ। संस्थाहरू योजना निर्माण, माग र कार्यान्वयन प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन थालेका छन्।
सहकर्मी समाजका कार्यक्रम संयोजक नवराज जैशीका अनुसार यी संस्थामा १२ हजार ९ सय ६२ घरधुरी आबद्ध छन्। एक सय १४ संस्थाले बैंक खाता सञ्चालन गरी आर्थिक कारोबार गरिरहेका छन्। संस्थामार्फत महिला नेतृत्व विकासमा समेत सकारात्मक प्रभाव परेको बताइएको छ।
टोल विकास संस्थाहरूले बचत तथा ऋण लगानी, सामुदायिक श्रमदान, सरसफाइ, वृक्षरोपण, बाटो संरक्षण, आयआर्जन र विपद् व्यवस्थापनका क्षेत्रमा पनि सक्रियता बढाएका छन्। नगरपालिकाले संस्थालाई सामुदायिक सहयोगी तालिम, कोष तथा लेखा व्यवस्थापन तालिम उपलब्ध गराउँदै आएको छ।
नगरपालिकाका अनुसार हाल ८० वटा संस्था आत्मनिर्भर भइसकेका छन् भने अन्य संस्थाको क्षमता विकासमा थप सहयोग आवश्यक रहेको छ।
पछिल्ला तीन वर्षमा टोल विकास संस्थाहरूले ९ सय ५६ योजना निर्माण गरेका छन्, जसमध्ये ७ सय ७२ योजना कार्यान्वयनमा आइसकेका छन्। श्रमदानमार्फत मात्र करिब १ करोड ३० लाख रुपैयाँभन्दा बढी बराबरको विकास निर्माण कार्य सम्पन्न भएको बताइएको छ।
योजना छनोट प्रक्रियामा पनि संस्थाहरूको भूमिका बढेको छ। बस्तीस्तरबाट १ हजार ५ सय ८४ योजना माग गरिएकामध्ये १ सय ४२ योजना पालिकाबाट सम्बोधन भएका छन्। स्थानीय अगुवाहरूका अनुसार यसले समुदायमा आर्थिक सशक्तीकरण, सामाजिक सहभागिता र सूचनामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।


















Discussion about this post