सार्थक व्युरो ।बैतडीको सूर्नया गाउँपालिका–२ का वडा सदस्य दानबहादुर ऐरीको भरुवा बन्दुकको छर्राबाट घाइते भएपछि उपचारका क्रममा निधन भएको छ।
बुधबार आफ्नै बन्दुक पड्किँदा घाँटीमा छर्रा लागेर गम्भीर घाइते भएका ४५ वर्षीय ऐरीलाई प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल रेफर गरिएको थियो।
अस्पतालमा उपचार सम्भव नभएको जानकारी पाएपछि घर फर्काइँदै गर्दा शुक्रबार बाटोमै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। प्रहरी निरीक्षक बल्देव बडूका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
घटनापछि स्थानीय समुदाय शोकाकुल बनेको छ। ऐरी गाउँस्तरमा सक्रिय जनप्रतिनिधिका रूपमा चिनिन्थे र विकास तथा सामाजिक कार्यमा उनको योगदान उल्लेखनीय रहेको स्थानीयवासीले बताएका छन्।
मृतक ऐरी २०७९ सालको स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट वडा सदस्यमा निर्वाचित भएका थिए। उनको असामयिक निधनप्रति गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दल र स्थानीयवासीले दुःख व्यक्त गर्दै एक सक्रिय नेतृत्व गुमाएको प्रतिक्रिया दिएका छन्।शव परीक्षणका लागि ऐरीको शव जिल्ला अस्पताल बैतडीमा राखिएको प्रहरीले जनाएको छ।


















Discussion about this post