राष्ट्रपतिद्वारा तनहुँमा भानु साहित्य उद्यानको शिलान्यास

सार्थक व्युरो । राष्ट्रपति रामचन्द्र पौडेल ले सोमबार तनहुँको चुँदी रम्घामा निर्माण हुने भानु साहित्य उद्यानको शिलान्यास गर्नुभएको छ। आदिकवि भानुभक्त आचार्य को जन्मस्थलमै बन्ने उक्त उद्यानमार्फत उहाँको जीवन, व्यक्तित्व र साहित्यिक योगदानलाई स्थायी रूपमा प्रस्तुत गर्ने लक्ष्य राखिएको छ।
उद्यानको अवधारणाअनुसार रम्घाको उच्च स्थानमा भानुभक्तको विशाल प्रतिमा स्थापना गरिनेछ भने भित्री भागमा उहाँको जीवनीसम्बन्धी सामग्री राखिनेछ। साथै, भानुभक्तसहित विभिन्न भाषाका प्रमुख स्रष्टाहरूका मूर्ति स्थापना गर्ने, रामायण मन्दिर निर्माण गर्ने तथा साहित्यिक पहिचान झल्काउने संरचनाहरू विकास गर्ने योजना समेटिएको छ।
परियोजनाअन्तर्गत साहित्यग्राम, प्रज्ञाभवन, वनस्पति उद्यान, मनोरञ्जन पार्क तथा भानुभक्तकालीन बस्ती र बजारको पुनर्निर्माण गर्ने योजना पनि रहेको छ। यससँगै सातै प्रदेशका सांस्कृतिक तथा धार्मिक पहिचान झल्काउने ‘सप्तधाम’ निर्माण गरिनेछ। प्रारम्भिक चरणमा कोशीको बराहक्षेत्र, मधेशको जनकपुर, बाग्मतीको पशुपतिनाथ, गण्डकीको मुक्तिनाथ, लुम्बिनी, कर्णालीको चन्दननाथ र सुदूरपश्चिमको वैद्यनाथलाई समेटिने जनाइएको छ।
शिलान्यास कार्यक्रममा राष्ट्रपति पौडेलले स्रष्टा राष्ट्रको पहिचान र सम्पदा भएको उल्लेख गर्दै भाषा र साहित्यको संरक्षण तथा विकासमा राज्य र सरोकारवाला सबै पक्षले ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले भानुभक्तको जन्मभूमिलाई नेपाली भाषा, साहित्य र संस्कृतिको केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
उद्यानलाई राष्ट्रिय एकताको प्रतीकका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले आगामी दिनमा यस परियोजनालाई पूर्णता दिन सबै क्षेत्रबाट सहकार्य आवश्यक रहेको बताउनुभयो। साथै पहुँच मार्ग सुधार, खानेपानीको दीर्घकालीन व्यवस्थापन तथा पूर्वाधार विकासमा सरकारले प्राथमिकता दिनुपर्ने सुझाव पनि दिनुभयो।
राष्ट्रपतिले चुँदी रम्घालाई साहित्यिक तीर्थस्थलका रूपमा विकास गर्न स्वदेश तथा विदेशका साहित्यकारलाई आमन्त्रण गर्ने, शैक्षिक भ्रमणको गन्तव्य बनाउने र पर्यटकीय पूर्वाधार विस्तार गर्ने योजना अघि बढाउन आग्रह गर्नुभयो।
कार्यक्रममा बोल्दै उहाँले करिब दुई सय वर्षअघि भानुभक्तले संस्कृतमा लेखिएको रामायणलाई नेपाली भाषामा रूपान्तरण गरेर नेपाली समाजलाई सांस्कृतिक रूपमा एकीकृत गर्न महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्नुभयो। उहाँका अनुसार भानुभक्तको योगदानले नेपाली भाषा र साहित्यलाई लोकप्रिय बनाउन ठूलो टेवा पुर्‍याएको छ।
भानु जन्मस्थल विकासका लागि सरकारले २०५३ सालमै समिति गठन गरेको र पछि भानु साहित्य उद्यानको अवधारणा अघि सारिएको स्मरण गर्दै राष्ट्रपति पौडेलले अहिले उक्त योजना कार्यान्वयनको चरणमा प्रवेश गरेको उल्लेख गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित