सार्थक डेस्क।नेपालको राजनीतिक परिदृश्यमा पछिल्ला घटनाक्रमले एउटा स्पष्ट सन्देश दिएको छ ,दलहरू केवल संगठनात्मक बलले मात्र होइन, नेतृत्वको चरित्र, इमानदारी र दूरदृष्टिले टिक्ने वा ढल्ने गर्छन् । नेकपा एमाले पनि यही मोडमा उभिएको छ, जहाँ आत्मसमीक्षा, पुनर्गठन र पुनर्जागरणबारे गम्भीर बहस आवश्यक देखिन्छ ।
भाद्र २३ र २४ का घटनाहरूले राष्ट्रिय राजनीति मात्र होइन, एमालेभित्रको आन्तरिक अवस्थालाई समेत गहिरो रूपमा प्रभावित ग¥यो । ती घटनाको जिम्मेवारी, नैतिकता र नेतृत्वको भूमिकाबारे विभिन्न धारणा हुन सक्छन् । तत्कालीन नेतृत्वको हैसियतमा केपी शर्मा ओलीमाथि नैतिक जिम्मेवारीको प्रश्न उठ्नु अस्वाभाविक थिएन, र त्यसै सन्दर्भमा उनको राजीनामा पनि
आयो । तर त्यसपछिका अराजक गतिविधि वा हिंसात्मक घटनाका लागि उनलाई दोषी ठहर गर्नु न्यायोचित देखिँदैन । तर यथार्थ यतिमा मात्र सीमित छैन । त्यसअघिका राजनीतिक निर्णयहरू, विशेषतः संसद विघटनजस्ता कदम र नेतृत्व शैलीले पार्टीभित्र असन्तोष बढाएको तथ्यलाई नजरअन्दाज गर्न मिल्दैन । यही कारण एमालेभित्र विभाजन, असन्तुलन र कमजोर एकताको अवस्था सिर्जना भयो । परिणामतः चुनावी पराजय पनि लगभग अपरिहार्य बन्यो, यद्यपि त्यो पराजय अपेक्षितभन्दा गहिरो थियो ।
अहिले एमालेभित्र पुनर्गठन र पुनर्जागरणका अनेक आवाजहरू उठिरहेका छन् । तर केवल नेतृत्व परिवर्तन वा व्यक्तिको अदलाबदलीले मात्र पार्टीको वास्तविक पुनर्जागरण सम्भव छैन । विगतमा विवाद, काण्ड वा अविश्वाससँग जोडिएका पात्रहरूले नयाँ ऊर्जा दिन सक्ने सम्भावना न्यून देखिन्छ । आजको आवश्यकता भनेको दागरहित छवि, नैतिक बल र संगठनप्रति समर्पण भएका नेतृत्वको उदय हो । यही सन्दर्भमा, नेतृत्वका आकांक्षी र आफुलाई प्रतिस्पर्धी सम्झिने दोश्रो पुस्ताका नेताहरुले एक पटक विद्या भण्डारीको नेतृत्वमा पार्टीलाई पुनर्गठन गर्न सवै नेताहरूको संयुक्त सक्रियता एक सम्भावित विकल्पका रूपमा देखिन्छ ।
भण्डारी ले लामो समय पार्टीभित्र सहकार्य गरेका छन्, नेतृत्वसँग निकट रहेर पनि आवश्यक अवस्थामा असहमति राख्न सक्ने क्षमता देखाएका छन् । अझ महत्वपूर्ण कुरा, वहाले अप्ठ्यारो परिस्थितिमा पनि सम्बन्ध र जिम्मेवारीलाई प्राथमिकता दिएको देखिन्छ ।
यदि सवै नेताहरूको अग्रसरतामा केपी ओलीलाई समेत विश्वासमा लिएर कार्यकारी नेतृत्व हस्तान्तरण र मार्गनिर्देशक भूमिकामा रूपान्तरण गराउन सकियो भने, एमालेभित्र नयाँ सन्तुलन र ऊर्जा सिर्जना हुन सक्छ । किनकि अझै पनि ठूलो जनसंख्या एमालेप्रति विश्वास राख्छन् । जनताको विश्वासलाई र बर्तमान नेतृत्वको भावनालाई बेवास्ता गरेर कुनै पनि पुनर्जागरण सम्भव छैन । पुनर्गठनको प्रक्रिया समावेशी, सन्तुलित र पारदर्शी हुनुपर्छ । भौगोलिक, लैंगिक, जातीय र क्षेत्रीय प्रतिनिधित्व सुनिश्चित गर्दै छरितो र सक्षम टिम निर्माण आवश्यक छ । साथै, पुराना अनुभवी नेताहरूको मार्गदर्शन र नयाँ पुस्ताको सक्रियताको संयोजनले मात्र पार्टीलाई गतिशील बनाउन सक्छ । त्यसपछि आवश्यक हुन्छ ,देशव्यापी संवाद र जनसम्पर्क । पार्टीले पहिले आफ्नै आन्तरिक एकता मजबुत पार्नुपर्छ, त्यसपछि मात्रै जनताको मुद्दामा विश्वसनीय आवाज बन्न सक्छ । सडकदेखि संसदसम्म प्रभावकारी उपस्थिति जनाउँदै, क्रमशः वाम एकताको दिशामा पनि पहल गर्नुपर्ने हुन्छ ।
तर सबैभन्दा महत्वपूर्ण कुरा ,आर्थिक पारदर्शिता र नैतिक स्वच्छता । पार्टीभित्रै यस्ता मूल्यहरू स्थापित गर्न नसकिएसम्म कुनै पनि पुनर्जागरण अभियान टिकाउ हुन सक्दैन । त्यसैले, चाहे जोसुकै होस् ,यदि इमान र चरित्रमा प्रश्न उठ्छ भने त्यस्ता व्यक्तिलाई नेतृत्वबाट टाढा राख्ने साहस पनि देखाउनुपर्छ ।
अन्ततः, एमालेको भविष्य कुनै एक व्यक्तिमा होइन, सामूहिक नेतृत्व, इमानदार कार्यशैली र स्पष्ट राजनीतिक दृष्टिकोणमा निर्भर छ । समयले अब अवसर दिएको छ ,अतीतबाट पाठ सिकेर नयाँ सुरुवात गर्ने । यदि यो अवसर गुमाइयो भने, पुनर्जागरणको सपना केवल नारा मै सीमित रहनेछ ।


















Discussion about this post