बाजुरामा स्याउ खेतीतर्फ किसानको बढ्दो आकर्षण

सार्थक व्युरो ।बाजुराका किसानहरू पछिल्लो समय स्याउ खेतीतर्फ आकर्षित हुन थालेका छन्। पहिले सडक पहुँचको अभावका कारण स्याउ उत्पादनप्रति खासै रुचि नदेखाएका स्थानीय अहिले भने बजारसम्म सहज पहुँच बनेपछि यसतर्फ लाग्न थालेका हुन्।
गाउँसम्म सडक सञ्जाल विस्तार भएसँगै उत्पादन भएका स्याउ सहजै ठूला सहरका बजारसम्म पुग्न थालेका छन्। यसले किसानलाई स्याउ खेतीबाट आम्दानी लिन सहज बनाएको छ। बुढीनन्दा नगरपालिका–८ का कृषक चक्रबहादुर कठायतका अनुसार पहिले गाउँमा सडक नहुँदा उत्पादन बिक्री गर्न कठिन थियो, तर अहिले सवारी साधन गाउँमै पुग्न थालेपछि स्याउ बजार पठाउन सजिलो भएको छ।
पहिले धान, गहुँ र जौजस्ता अन्नबालीमा निर्भर रहेका किसानहरू अहिले स्याउ खेतीतर्फ मोडिएका छन्। स्याउबाट राम्रो आम्दानी हुन थालेपछि धेरैजसो जमिनमा अन्नबालीको सट्टा स्याउ लगाउन थालिएको छ।
जिल्लाका हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, बडिमालिका, गौमुल, बुढीगङ्गा र खप्तड छेडेदह क्षेत्रमा स्याउ उत्पादन हुँदै आएको छ। तीमध्ये बडिमालिका–९ र १० को पाण्डुसैन क्षेत्र स्याउ उत्पादनका लागि प्रमुख मानिन्छ भने हिमाली, स्वामिकार्तिक खापर र जगनाथमा पनि राम्रो उत्पादन हुने गरेको छ। पछिल्लो समय गौमुल, बडिमालिका र बुढीगङ्गामा समेत स्याउ खेती विस्तार हुँदै गएको छ।
बाजुरामा उत्पादित अर्गानिक स्याउ अहिले देशका विभिन्न सहरमा पुग्न थालेका छन्। विगतमा सीमित क्षेत्रमा मात्र स्याउ फल्ने गरेकोमा अहिले नयाँ स्थानहरूमा समेत उत्पादन सुरु भएको छ।
कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीका अनुसार जिल्लामा करिब १७० हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ। पहिले उत्पादन कम हुने र बजार अभावका कारण स्याउ खेर जाने अवस्था भए पनि अहिले ढुवानी अनुदानका कारण देशका विभिन्न बजारमा बिक्री हुन थालेको छ।
बाजुरामा पहिले स्थानीय जातका स्याउ मात्र उत्पादन हुने गरे पनि अहिले फुजी, गाला र गोल्डेन जातका स्याउ पनि उत्पादन हुन थालेका छन्। गत वर्ष जिल्लामा करिब एक हजार २० मेट्रिक टन स्याउ उत्पादन भएकोमा झन्डै ६ सय मेट्रिक टन स्याउ विभिन्न सहरमा बिक्री गरिएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित