इन्धन महँगीको असरः सुदूरपश्चिममा विकास निर्माण सुस्त

सार्थक व्युरो ।पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै जाँदा र आपूर्तिमा देखिएको असहजताका कारण सुदूरपश्चिम प्रदेशका विकास निर्माणका आयोजना प्रभावित हुन थालेका छन्। विशेषगरी बैतडी लगायतका जिल्लामा निर्माण व्यवसायीले बढ्दो लागतका कारण काम सञ्चालन गर्न समस्या भोगिरहेका छन्।
हाल उपलब्ध मौज्दात इन्धनकै भरमा काम अघि बढाइए पनि मूल्यवृद्धि र आपूर्ति अनिश्चित हुँदा निर्माणको गति घटेको जनाइएको छ। लागत धान्न नसक्ने अवस्था सिर्जना भएपछि धेरै ठेकेदारले कामदारको सङ्ख्या घटाउन थालेका छन्।
सतबाँझ–श्रीभावर सडकखण्ड निर्माणमा संलग्न इन्द्रधनु निर्माण सेवाका सञ्चालक राजेन्द्रबहादुर चन्दले बढ्दो लागतले ठूला आयोजना समेत प्रभावित भएको बताए। उनका अनुसार पहिले करिब ८० जना कामदार परिचालन गरिँदै आएकोमा अहिले आठदेखि १० जनामा सीमित गरिएको छ। मूल्य समायोजन भए पुनः कामलाई तीव्रता दिने तयारी रहेको उनले उल्लेख गरे।
सडक डिभिजन कार्यालय पाटनअन्तर्गत बैतडी, बझाङ र दार्चुलामा सञ्चालनमा रहेका विभिन्न सडक योजनामा पनि महँगीको असर परेको डिभिजन प्रमुख किरण सुवेदीले जानकारी दिए। मध्यपहाडी राजमार्ग अन्तर्गत खोड्पे–सतबाँझ सडकखण्डमा मर्मत तथा पुनर्निर्माण भइरहे पनि बिटुमिनलगायत सामग्रीको अभावले काम प्रभावित भएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर कपिल पन्तले बताए।
बैतडीको गोकुलेश्वर क्षेत्रको पङसेरा–धामीगाउँ सडकखण्डमा पनि कामको गति घटेको छ। उक्त आयोजना हेर्दै आएको कैलाश कन्स्ट्रक्सनका सञ्चालक अमित रावलका अनुसार पहिले दैनिक ५०–६० कामदार परिचालन गरिँदै आएकोमा अहिले पाँच–छ जनामा सीमित गरिएको छ।
सुदूरपश्चिमकै गौरवको आयोजना मानिने महाकाली कोरिडोरमा समेत मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव देखिएको छ। आयोजनासँग सम्बन्धित निर्माण व्यवसायीहरूले लागत बढ्दै जाँदा कार्यसम्पादनमा कठिनाइ आएको बताएका छन्।
पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख धीरेन्द्र भट्टका अनुसार जिल्लाभर सञ्चालित साना–ठूला सबै आयोजनामा महँगीको असर परेको छ। कञ्चनपुरदेखि दार्चुलाको तिङ्करसम्म फैलिएको महाकाली कोरिडोर अन्तर्गत १३ वटा प्याकेजमा काम भइरहेको छ। आयोजनाका प्रमुख ईश्वर कार्कीका अनुसार विभिन्न खण्डमा सडक निर्माण भइरहे पनि लागत वृद्धिका कारण काम सुस्त बन्दै गएको छ। धनथलादेखि तुसारपानीसम्मको ७९ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेको पनि उनले जानकारी दिए।
निर्माण व्यवसायीहरूले लागत समायोजन नगरेसम्म काम प्रभावकारी रूपमा अघि बढाउन कठिन हुने भन्दै सरकारसँग तत्काल मूल्य समायोजनको माग गरेका छन्।
यसैबीच, ग्रामीण सडकहरूको अवस्था अझै कमजोर रहेको सरोकारवालाले बताएका छन्। सतबाँझ–श्रीभावर सडकखण्डमा सवारी चलाउँदै आएका चालक सुरेश विष्टका अनुसार वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण सवारी सञ्चालन निकै चुनौतीपूर्ण हुने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित