सार्थक व्युरो ।सुदूरपश्चिम प्रदेश सरकारद्वारा दर्ता गरिएका दुई महत्वपूर्ण विधेयक एक वर्ष बितिसक्दा पनि प्रदेश सभा सचिवालयमै थन्किएर बसेका छन्। सभा सञ्चालन भइरहे पनि ती विधेयकलाई कार्यसूचीमा नल्याइँदा अघि बढ्न नसकेको अवस्था देखिएको छ।
अगाडि नबढेका विधेयकमा टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालयसम्बन्धी विधेयक र बडघर तथा भलमनसा प्रथा संरक्षण तथा विकाससम्बन्धी विधेयक रहेका छन्। यी दुवै प्रस्ताव एक वर्षअघि नै सचिवालयमा दर्ता गरिए पनि हालसम्म सदनमा प्रस्तुत हुन सकेका छैनन्।
प्रदेश सरकारले विश्वविद्यालयसम्बन्धी विधेयक २०८१ चैत ३ गते र बडघर–भलमनसा प्रथासम्बन्धी विधेयक २०८२ जेठ २१ गते दर्ता गरेको थियो। विगतमा कार्यसूची अभावको समस्या भोग्दै आएको प्रदेश सभाले यी विधेयकलाई भने लामो समयदेखि अगाडि बढाउन नसकेको देखिएको छ।
विधेयकहरू अघि नबढाइएको विषयमा सत्तारूढ दल नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ। मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले ती विधेयक तत्काल सदनमा पेश गर्न सभामुख भीमबहादुर भण्डारीलाई आग्रह गर्ने निर्णय गरेको छ।
एक वर्षसम्म पनि विधेयक सदनमा पेश नहुँदा छलफलको प्रक्रिया नै सुरु हुन नसकेको भन्दै दलले संसद्को कार्यशैलीमाथि प्रश्न उठाएको छ। प्रमुख सचेतक विक्रमसिंह धामीले विधेयक सदनमा प्रवेश गरेपछि मात्र छलफल र अन्य प्रक्रियाहरू अघि बढ्ने भएकाले तत्काल कार्यसूचीमा राख्नुपर्ने धारणा राख्नुभयो।
यता, आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले भने ती विधेयकहरू सदनमा प्रस्तुत भइसकेको र छलफलका क्रममा रहेको दाबी गर्नुभएको छ। उहाँका अनुसार आगामी बैठकमा यसबारे थप बहस हुने अपेक्षा गरिएको छ।


















Discussion about this post