दार्चुला–तिङ्कर सडक निर्माणलाई तीव्रता दिन स्थानीयको दबाब, पर्याप्त बजेट माग

सार्थक व्युरो ।दार्चुलाका स्थानीयवासीले सामरिक तथा त्रिदेशीय नाकाका रूपमा महत्वपूर्ण मानिएको दार्चुला–तिङ्कर सडक निर्माणका लागि सरकारले पर्याप्त बजेट छुट्याउनुपर्ने माग गरेका छन् । विशेषगरी सीमावर्ती व्यास गाउँपालिकाका बासिन्दाले लामो समयदेखि अधुरो रहेको सडक योजनालाई शीघ्र सम्पन्न गर्न बजेट अभाव हटाउनुपर्ने बताएका हुन् ।
सडक निर्माण प्रक्रिया सुरु भएको करिब १८ वर्ष बितिसक्दा पनि पर्याप्त बजेट नपाउँदा कामले अपेक्षित गति लिन नसकेको स्थानीयको गुनासो छ । व्यास गाउँपालिका–२ दुम्लिङकी पूर्णिमा बुढाथोकीले सीमाका नागरिकलाई सडक सञ्जालसँग जोड्न सरकारले प्राथमिकताका साथ लगानी बढाउनुपर्ने बताउनुभयो । उहाँका अनुसार सडक नहुँदा खाद्यान्न र दैनिक उपभोग्य वस्तु महँगो मूल्यमा खरिद गर्नुपर्ने अवस्था छ ।
स्थानीयले नेपालतर्फ सहज सडक पहुँच नहुँदा किनमेल र आवतजावतका लागि भारतीय बजारमा निर्भर रहनुपरेको बताएका छन् । भारतले कालापानी र लिपुलेकसम्म सडक विस्तार गरिसकेको भए पनि नेपालतर्फ भने निर्माण कार्य अझै अपूरो रहेको उनीहरूको भनाइ छ । हालै नेपाली सेनाले दुम्लिङसम्म सवारीसाधन पु¥याएको भए पनि तिङ्करसम्मको पहुँच अझै बन्न सकेको छैन ।
सडक अभावकै कारण छाङ्रु र तिङ्कर क्षेत्रमा बसोबास गर्ने सौका समुदायका नागरिकले भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताइएको छ । व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहोराले रणनीतिक महत्व बोकेको यो सडक निर्माणमा सरकारले विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
व्यास–६ हुतीका दीपक खातीले बजेटको कमीका कारण निर्माण कार्य प्रभावित भइरहेको बताउनुभयो । उहाँका अनुसार छाङ्रुदेखि अगाडिको सडक निर्माण काम आर्थिक अभावकै कारण रोकिएको छ । नेपालतर्फबाट तिङ्कर नाकासम्म सवारी सञ्चालन गर्न अझै ६७ किलोमिटर सडक निर्माण गर्न बाँकी रहेको जनाइएको छ ।
कडा चट्टानी भूगोल र वार्षिक बजेटको अभावले सडक निर्माण सुस्त बनेको स्थानीयको भनाइ छ । सडक नहुँदा सदरमुकाम पुग्न समेत तुइनको भर पर्नुपर्ने अवस्था रहेको दुम्लिङकी द्रोपती जोहारीले बताउनुभयो । उहाँले तुइन दुर्घटनामा सयौँले ज्यान गुमाइसकेको उल्लेख गर्दै नागरिकको सुरक्षाका लागि भए पनि सरकारले सडक निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
स्थानीयले कम्तीमा दुम्लिङसम्म वर्षभरि सवारी सञ्चालन हुने गरी सडक निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् । दार्चुला–तिङ्कर सडक निर्माणमा कठिनाइ देखिएपछि सरकारले आर्थिक वर्ष २०७७/७८ देखि नेपाली सेनालाई निर्माणको जिम्मेवारी दिएको थियो ।
हाल नेपाली सेनाले व्यास गाउँपालिका–३ तुषारपानीदेखि तिङ्करसम्म ७९ किलोमिटर सडक निर्माण गरिरहेको छ । यो आयोजना आर्थिक वर्ष २०८७/८८ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
नेपाली सेनाका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि सुरु गरिएको निर्माण कार्यअन्तर्गत हालसम्म २२ दशमलव १५ प्रतिशत ट्र्याक खोलिएको छ भने १२ किलोमिटर सडकमा सवारी सञ्चालन भइसकेको छ । तुषारपानीदेखि दुम्लिङसम्मको खण्डमा अहिले गाडी सञ्चालन भइरहेको छ । सेनाले हालसम्म सडक निर्माणमा तीन अर्ब ७४ करोड रुपैयाँ खर्च भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित