अत्तरियामा सुदूरपश्चिमकै पहिलो आकाशे पुल निर्माण थालियो

सार्थक व्युरो । अत्तरिया चोकमा सुदूरपश्चिम प्रदेशकै पहिलो आकाशे पुल निर्माण कार्य सुरु भएको छ । शनिबार आयोजित कार्यक्रममा नगर प्रमुख वीरेन्द्र भट्ट ले शिलान्यास गर्दै निर्माणको औपचारिक शुभारम्भ गर्नुभएको हो ।
शिलान्यास कार्यक्रममा नगर प्रमुख भट्टले अत्तरिया क्षेत्रमा बढ्दो सवारी चाप, पैदलयात्रीको असुरक्षा तथा व्यवस्थित आवागमनको आवश्यकतालाई ध्यानमा राख्दै आकाशे पुल निर्माणको योजना अघि सारिएको बताउनुभयो । उहाँले तीव्र रूपमा शहरीकरण भइरहेको अत्तरिया बजारमा आधुनिक र सुरक्षित भौतिक पूर्वाधारको आवश्यकता बढ्दै गएको उल्लेख गर्नुभयो ।
उहाँका अनुसार सडक पार गर्ने क्रममा हुने सम्भावित दुर्घटना कम गर्न तथा पैदलयात्रीको सुरक्षालाई प्राथमिकतामा राख्दै पुल निर्माण सुरु गरिएको हो । विकास निर्माणका कामलाई सफल बनाउन स्थानीयवासी, सरोकारवाला निकाय र सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक रहेको भन्दै नगर प्रमुख भट्टले सहयोगका लागि आग्रह गर्नुभयो ।
गोदावरी नगरपालिका को आन्तरिक स्रोतबाट निर्माण हुन लागेको उक्त पुलको लागत भ्याटसहित १ करोड ४२ लाख ८५ हजार ४ सय ९८ रुपैयाँ रहेको छ । निर्माणको जिम्मेवारी कृजल त्रिनेत्र सिद्धनाथ जेभी ले पाएको जनाइएको छ ।
निर्माण कम्पनीका इन्जिनियर मोहित चन्द का अनुसार प्रारम्भिक सम्झौताअनुसार २०८२ फागुन १० गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर सडक डिभिजन कार्यालयबाट अनुमति लिन ढिलाइ हुँदा निर्माण प्रक्रिया प्रभावित भएको उहाँले बताउनुभयो । संशोधित सम्झौताअनुसार अब पुल निर्माण २०८३ पुस मसान्तभित्र सम्पन्न गरिने लक्ष्य तय गरिएको छ ।
निर्माणाधीन आकाशे पुल ५.६ मिटर उचाइ, २ मिटर चौडाइको पैदल मार्ग तथा ४५ मिटर लम्बाइको हुने जनाइएको छ । पुल निर्माण सम्पन्न भएपछि अत्तरिया बजार क्षेत्रमा पैदलयात्रीलाई सुरक्षित रूपमा सडक वारपार गर्न सहज हुने अपेक्षा गरिएको छ ।
स्थानीयवासीले व्यस्त बजार क्षेत्रमा निर्माण हुन लागेको आकाशे पुलले ट्राफिक व्यवस्थापन सुधार गर्न तथा सडक दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित