सार्थक व्युरो । सुदूरपश्चिम प्रदेशको समग्र विकास, समृद्धि र नीतिगत सुधारका विषयमा केन्द्रित ‘सुदूरपश्चिम कचहरी २०८३’ शनिबारदेखि धनगढीमा सुरु भएको छ । सुदूरपश्चिम विकास फाउण्डेसनको आयोजनामा तथा प्रदेश नीति तथा योजना आयोगको समन्वयमा सञ्चालन भइरहेको दुई दिने कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ले गर्नुभएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले समृद्ध सुदूरपश्चिम निर्माणका लागि युवालाई रोजगारी र आयआर्जनसँग जोड्न आवश्यक रहेको बताउनुभयो । उहाँले प्रदेशमा रहेका अपार सम्भावनालाई उपयोग गर्दै उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जनामार्फत युवाको भविष्य सुरक्षित गर्नुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री शाहले सीमित स्रोतसाधनका बाबजुद पनि जनताका आवश्यकतालाई सम्बोधन गर्ने स्पष्ट तथा कार्यान्वयनयोग्य विकास खाका आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार प्रदेशमा गरिबी, बेरोजगारी, कमजोर पूर्वाधार, शिक्षा तथा स्वास्थ्य सेवामा असमान पहुँच, युवा पलायन तथा नीति कार्यान्वयनका चुनौती अझै विद्यमान छन् । यिनै चुनौतीका बीच प्रदेश सरकारले सम्भावनाको खोजी र विकासका वैकल्पिक मार्गहरू पहिचान गर्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो ।
यसअघि सुदूरपश्चिम विकास फाउण्डेसनका अध्यक्ष शेरबहादुर शाही ले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै जेठ २ र ३ गते सञ्चालन हुने कार्यक्रमले प्रदेशको समग्र विकास र समृद्धिको साझा दृष्टिकोण निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगारी, सुरक्षित आप्रवासन, पूर्वाधार तथा सुशासनका विषयमा नीतिगत बहस गरी प्राप्त निष्कर्षलाई आगामी बजेट तथा नीति निर्माण प्रक्रियामा समावेश गराउन केन्द्र सरकारसमक्ष पठाइनेछ ।
कार्यक्रमअन्तर्गत मुख्यमन्त्रीको उद्घाटनपछि ‘सुदूरपश्चिमको सम्भावना र समृद्धि’ विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट र सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव बैकुण्ठ अर्याल बीच नीतिगत बहस आयोजना गरिएको छ । उक्त बहसको सहजीकरण वरिष्ठ पत्रकार टीकाराम यात्री ले गर्नुभएको छ ।
त्यसैगरी ‘सुदूरपश्चिमको स्वाभिमान, ऐतिहासिक विरासत र पहिचान’ विषयमा पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, उपकुलपति डा. टीएन जोशी, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. जीवन राना, बासुदेव पाण्डे र यज्ञराज उपाध्यायबीच छलफल हुने कार्यक्रम रहेको छ ।
पहिलो दिनको अन्तिम सत्र ‘संघीयताको अभ्यास, अनुभव, चुनौती र सुधारको बाटो’ विषयमा केन्द्रित रहने आयोजकले जनाएको छ । उक्त सत्रमा पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट, दीर्घ सोडारी, संघीयता विज्ञ खिमलाल देवकोटा लगायत सहभागी हुनेछन् ।
सुदूरपश्चिम विकास फाउण्डेसनका सचिव पविन्द्र शाही ले प्रदेश ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक तथा पर्यटन सम्भावनाले समृद्ध भए पनि अपेक्षित विकास हासिल हुन नसकेको बताउनुभयो । उहाँले सरकार, निजी क्षेत्र र समुदायबीच सहकार्य तथा समन्वय बढाएर दीर्घकालीन विकासको साझा कार्ययोजना तयार गर्ने उद्देश्यले हरेक वर्ष ‘कचहरी’ आयोजना गरिने जानकारी दिनुभयो ।
उहाँका अनुसार कार्यक्रमबाट प्राप्त सुझाव र निष्कर्षलाई समेटेर ‘सुदूरपश्चिम घोषणापत्र’ सार्वजनिक गरिनेछ । कार्यक्रममा संघ, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, नागरिक समाज, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहेको छ ।


















Discussion about this post