सार्थक व्युरो ।जल तथा मौसम विज्ञान विभागले आगामी जेठ १८ गते आसपासबाट मनसुन भित्रिने सम्भावना औँल्याएसँगै कञ्चनपुर जिल्लाका स्थानीय तहहरूले मनसुनजन्य विपद् न्यूनीकरणका लागि पूर्वतयारीलाई तीव्रता दिएका छन्। बाढी, डुबान तथा कटानको जोखिम उच्च रहेका क्षेत्रहरूमा सतर्कता अपनाउँदै आवश्यक संरचना निर्माण, तालिम तथा उद्धार सामग्री व्यवस्थापनका काम अघि बढाइएको जनाइएको छ।
पुनर्वास नगरपालिकाले सम्भावित विपद्लाई ध्यानमा राख्दै खोज तथा उद्धार सामग्री खरिदको प्रक्रिया सुरु गरेको जनाएको छ। जेनजी आन्दोलनका क्रममा केही सामग्री नष्ट भएपछि विभिन्न संघसंस्थासँगको सहकार्यमा नयाँ सामग्री व्यवस्थापन भइरहेको नगरपालिकाका विपद् सम्पर्क व्यक्ति ओमनाथ ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार वडा नं. १० को विकास बस्ती, वडा नं. ५ को रातोताल र सिमरी तथा वडा नं. २ को दशरथ बस्ती गरी दुई सयभन्दा बढी घरपरिवार उच्च जोखिममा छन्। प्रभावितलाई सुरक्षित राख्न वडा नं. ५ को रातोताल क्षेत्रमा सुरक्षित आवास निर्माण गरिएको छ।
नगरपालिकाले सामुदायिक विपद् व्यवस्थापन समितिलाई तालिम दिनुका साथै उद्धार कार्यमा सक्रिय रहन निर्देशन दिएको छ। दुई स्थानमा साइरन जडान गरिएको र सुरक्षा निकायसँग समन्वय गरी राहत तथा उद्धारको तयारी पूरा गरिएको ढकालले बताउनुभयो। महामारी फैलिन नदिन स्वास्थ्य शाखामार्फत औषधि र उपचार व्यवस्थासमेत मिलाइएको छ।
बेलौरी नगरपालिकाले पनि मनसुनजन्य जोखिम न्यूनीकरणका लागि वडास्तरमा छलफल र सामुदायिक समितिलाई तालिम प्रदान गरिरहेको जनाएको छ। कृष्णपुर नगरपालिकाले खहरे खोला र नदीबाट हुने डुबानलाई लक्षित गर्दै नौवटै वडामा पूर्वतयारी कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। डुबान प्रभावित क्षेत्रमा तटबन्ध निर्माण तथा नाला सफाइलाई प्राथमिकतामा राखिएको नगरपालिकाले जानकारी दिएको छ।
वेदकोट नगरपालिकाले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना परिमार्जन गरिरहेको जनाएको छ। नगरपालिकाका विपद् सम्पर्क व्यक्ति सुनील चन्दका अनुसार विभिन्न संघसंस्थासँगको सहकार्यमा पूर्वतयारी अभियान सञ्चालन गरिएको छ। नगर प्रहरीलाई पाँच दिने उद्धार तालिम दिइएको र आवश्यक सामग्री व्यवस्थापनको काम पनि भइरहेको उहाँले बताउनुभयो। वेदकोटका वडा नं. ४ को सार्कीपार्की टोल, वडा नं. १० को चतहरी क्षेत्र तथा वडा नं. ९ को बैजनाथ टोलका चार सयभन्दा बढी घरधुरी डुबानको जोखिममा रहेका छन्।
बेलडाँडी गाउँपालिकाले पाँचवटै वडामा १० वटा सामुदायिक विपद् व्यवस्थापन समिति गठन गरी तयारीलाई सक्रिय बनाएको जनाएको छ। गाउँपालिकाका विपद् सम्पर्क व्यक्ति पुरुषोत्तम जोशीका अनुसार समितिलाई सूचना प्रवाह, खोज तथा उद्धारसम्बन्धी तालिम दिइएको छ। गत वर्ष नदीको बाँध भत्किँदा ठूलो क्षति भएपछि यस वर्ष समयमै मर्मत गरिएकाले जोखिम केही घट्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो।
लालझाँडी गाउँपालिकाले पनि १४ वटा सामुदायिक विपद् व्यवस्थापन समितिलाई तालिम दिइसकेको जनाएको छ। वडा नं. २, ३ र ४ बाढीको उच्च जोखिममा रहेको बताइएको छ।
यता भीमदत्त, शुक्लाफाँटा र दोधाराचाँदनी नगरपालिकाले पनि मनसुनजन्य विपद् सामना गर्न पूर्वअभ्यास, तालिम तथा आवश्यक सामग्री व्यवस्थापनलाई प्राथमिकतामा राखेका छन्। भीमदत्त नगरपालिकामा मात्रै महाकाली नदी आसपासका एक हजारभन्दा बढी परिवार बाढीको जोखिममा रहेको जनाइएको छ। दोधाराचाँदनी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत विकले पनि सम्भावित विपद्लाई ध्यानमा राख्दै तयारी तीव्र बनाइएको जानकारी दिनुभयो।


















Discussion about this post